विश्वभर ९ हजार नेपाली कोरोनाबाट मुक्त

Yugnepal     929 पटक पढिएको    

विश्वभर ९ हजार नेपाली कोरोनाबाट मुक्त

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि  यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन ।

एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

 समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।  समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७  विदेशमा तथा नेपालमा  १८ जना नेपालीको निधन भएको  छ । 

सापकोटाका अनुसार नेपालका पाँच हजार ३३५ सहित ३५ देशमा २३ हजार १२७  नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण  बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

सहयोग
एनआरएनएले विदेशमा अलपत्र  नेपालीका लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यस साता गर्भवती र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा समस्यामा परेका नेपाली गर्भवती र बालबालिकाका लागि थप आर्थिक सहयोग वितरण गरेको हो । 

संघले कोभिड –१९ बाट पीडित गैरआवासीय नेपालीलाई तेस्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर तथा फ्रान्स र डेनमार्कमा रहेका नेपालीका लागि दुई हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । 

यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।   

एनआरएनले हालसम्म विदेशमा कोभिड पीडित नेपालीका लागि रु ६६ लाख सहयोग गरिसकेको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

उद्धार
एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र  पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म एनआरएन र विदेशस्थित नेपाली दूतावासको समन्वयमा म्यानमाबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी ५११ जनाको उद्धार गरिएको छ ।

 राष्ट्र संघमा छलफल
  नेपाली श्रमिकको उद्धारका लागि एनआरएनएले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीका अनुसार राष्ट्र संघअन्तर्गतको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन ९आइओएम० सँग संघका अध्यक्ष पन्तसहितको टोलीले छलफल गरेको थियो । 

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनका प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिनुभएको थियो । 

आइओएम कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको एनआरएनले जनाएको छ ।



आइतबार ३२, जेठ २०७७ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.