पाटन दरबार क्षेत्रमा बृहद कला सांस्कृतिक महोत्सव, नाचगानदेखि खानपिनसम्म

Yugnepal     919 पटक पढिएको    

पाटन दरबार क्षेत्रमा बृहद कला सांस्कृतिक महोत्सव, नाचगानदेखि खानपिनसम्म

ललितपुर। कला संस्कृतिको नगरी ललितपुरमा बृहद कला तथा सांस्कृति महोत्सव हुने भएको छ। विश्व कला परिषदले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा महानगरपालिकाको वडा नम्बर–१६ र पाटन दरबार क्षेत्रमा चैत १३ गतेदेखि १७ गतेसम्म वृहत् कला तथा सांस्कृतिक महोत्सव गरिने, महोत्सव मूल समारोह समितिका संयोजक एवं वडा अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए। 

विश्व सम्पदामा सूचीकृत पाटन दरबारक्षेत्रको कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाबिहार, यशोधर महाबिहार, रत्नाकर महाबिहार लगायत लिच्छविकालिन बौद्ध बिहार र विभिन्न मूर्त, अमूर्त सम्पदा टोलटोलमै छन्। ललितपुर महानगरको वडा नम्बर १६ का ६० प्रतिशत नागरिकले पुस्तौंदेखि हस्तकला पेशा अपनाउँदै आएको र जिवन्त प्रर्दशनी समेत भइरहने क्षेत्र भएकाले  यसको प्रबद्धनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष शाक्यको भनाइ छ। महोत्सवको बेला, १६ नम्बर वडामा हस्तकला र संस्कृतिका प्रर्दशनी ५ दिनसम्म जारी रहनेछ। नागबहालमा धातुकला मूर्तिकलाका करिब २५ वटा स्टल रहनेछ।

त्यस्तै इलाननी टोलमा धातुका मूर्तिमा कलाकारहरुले बुट्टा कुँदिरहेको जीवन्त प्रर्दशनी हुनेछ। नकबहिलमा रञ्जना लिपी लेखन विधि र मच्छिन्द्रनाथ बनाउने विधिबारे जीवन्त प्रर्दशनी हुनेछ। त्यहाँ नेवार समुदायको संस्कृति गेडागुडीको मण्डला तथा देवीदेवताको मुखाकृतिको प्रर्दशनी हुनेछ।

त्यस्तै न्याखाचोकमा बज्राचार्य पुजाविधि, दशकर्म संस्कार तथा विभिन्न पुजाविधिमा प्रयोग हुने सामग्रीको जीवन्त प्रर्दशनी गरिनेछ। रत्नाकर महाविहारमा ललितपूरकी कुमारी दर्शनसँगै फोटो प्रर्दशनी हुनेछ। स्वठः टोलमा नेवारी परम्परागत भेषभुषा प्रर्दशनी, साँस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रमसँगै विभिन्न खालका मूर्ति बनाउने प्रर्दशनी हुनेछ। 

ललितपुरको आकर्षण पिम्बहालको जगमदु पोखरीमा बोटिङसँगै नेवार समुदायका विशिष्ट व्यक्तिको चित्र प्रर्दशनी हुनेछ। यी सबै टोलमा स्थानीय समुदायकै अग्रसरतामा महोत्सब हुन लागेको हो। विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र, लिच्छविकालीन, मल्लकालीन मूर्त–अमूर्त सम्पदा संस्कृतिले भरिएको वडा हो। यो वडालाई सांस्कृतिक एवं हस्तकलाको वडाका रुपमा विकास गर्ने लक्ष्यसाथ वडा कार्यालयले महोत्सव आयोजना गरेको हो। 

स्थानीयले मनाउने विभिन्न चाडपर्वबारे जानकारी गराउने सामग्रीको प्रदर्शन गरिनुका साथै चर्या नृत्य तथा सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण हुनेछ। महोत्सवमा सांस्कृतिक बाजागाजा सहित लाखेनाच पनि देखाइनेछ। पाँच दिनसम्म बिहान १० बजेदेखि राति ८ बजेसम्म हुने महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम हुनुकै साथै विभिन्न नेवार परिकारको स्टल रहनेछ। प्रवेश निःशुल्क हुने आयोजकले जानकारी दिएको छ। महोत्सव ५ लाखले अबलोकन गर्ने आयोजकले अनुमान गरेको छ।



मङ्गलबार १२, चैत २०७५ १०:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.