छुवाछुत मुक्त राष्ट्र घोषणा नीतिको वनबास

Yugnepal     548 पटक पढिएको    

छुवाछुत मुक्त राष्ट्र घोषणा  नीतिको वनबास

निर्दोष एन पि 

छुवाछुत मुक्त राष्ट्रको अवधारणा लागू नभएर बनबास गएको रहेछ। सायद त्यसैले होला, जातिय आधारमा गरिने भेदभावका कारण मर्नेहरूको संख्या संसारकै परिपेक्षमा हाम्रो देशमा उच्च रहेको छ। कति लाजको कुरा छ। आज जेष्ठ २१ गते, नेपालमा जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ बर्ष भएछ। हिन्दु धर्मको महाकाव्य रामायणमा पनि रामले १४ बर्ष बनबासको क्रममा खुबै उपलब्धीमुलक काम गरे, रावणलाई परास्त गरे। तर हाम्रो देश नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ साल बितिसक्दा पनि मानिसहरूको व्यवहारमा कुनै परिवर्तन आएको छैन। दलित समुदायका मानिसहरू जहिले जातियताको सवालमा ज्यान गुमाइरहेका छन। आखिर कहिले सम्म? 

देशले राणा शासनलाई परास्त गरेर प्रजातन्त्र जन्मायो, तर हाम्रो समाजले राणाकालिन मूल्यमान्यता, परम्परहरूलाई अङ्गालिरह्यो। फलस्वरूप देशले प्रजातन्त्रको स्वाद चाख्न पायो तर कथित दलित समुदायले प्रजातन्त्रको अनुभूति पनि गर्न पाएन। पोहोरसाल कुनै परिक्षामा एउटा प्रश्न सोधिएको थियो - 'प्रजातन्त्र भनेको के हो?' म अलमल्लमा परे? आखिर के रहेछ यो प्रजातन्त्र भनेको? नजिकैको साथीलाई खुसुक्क सोधे, उसको जवाफ रिसाएको अनुहार थियो, मलाई लाग्यो सायद सजिलै होला प्रजातन्त्रको परिभाषा र यसरी लेखिदिए - २१ औं सताब्दिमा पनि मनिसलाई मन्दिर छोएको निहुमा, धारा छोएको निहुमा, चुलो छोएको निहुमा, अंतरजातिय प्रेमको निहुमा, बोक्सीको आरोपमा खुलेआम यो समाजले कथित उपल्लो जातलाई हत्या गर्ने लाइसेन्सको व्यवस्था गरिदिन्छ र जसमा कानुनले पनि छुट दिएको हुन्छ भने यसैलाई प्रजातन्त्र भनिन्छ। यहि थियो मेरो उत्तर, प्रजातन्त्रको नाममा मैले र मेरो समाजले भोगेको यथार्थ पनि त यहि थियो र सम्झेर लेखिदिए।
 

दोश्रो विश्व युद्धमा हिटलरले यहुदीहरूलाई दिएको उपहार, सन् १६८० पछाडि गोराजातीहरूले काला जातिहरू माथी गरेको दमन र नेपालमा प्रजातन्त्रको उदय भैसकेपछि पनि कथित दलित समुदायले भोगेको जिन्दगी, मलाई लाग्छ समानान्तर छन। जब हिटलर जर्मनीका शासक थिए, उनले युरोपमा रहेका करोडौं यहुदीहरूलाई खोजीखोजी नाजी कन्सन्ट्रेसन क्याम्प (Auschwitz) मा कैद गरेर कसैलाई ग्यास चेम्बर (Gas Chamber) मा हालेर मारे भने कसैको छाला उधिनेर मारे। यसको वर्णन गर्दा खोज्दा पनि मन काप्न थाल्छ। यो बिसौ सताब्दीको निन्दनीय घटना थियो भने सन १६८० पछाडी अफ्रिकी मुलुकहरूबाट, अमेरिका, युरोप जस्ता महादेशहरूले कालाजातिका मानिसहरूलाई विभिन्न प्रलोभन पारेर आफ्नो देश ल्याई गुलामी गर्न बाध्य बनाए। र उनिहरूमाथी सुरु भयो जातिय र रङ्गिय विभेदको कहर जसको ४०० वर्ष बितिसक्दा पनि यो भेदभाव लहर अझै हटेको छैन। 

 

बि.स २००७ को प्रजातन्त्र आउनुपुर्व पनि नेपालमा दलित समुदायहरूलाई यस्तै प्रलोभन देखाइयो कि नेपालमा प्रजातन्त्र आएपछी जातिय सम्बन्धमा भैरहेको छुवाछुतको अन्त्य हुन्छ। दलित समुदायहरू पनि राणाकालिन दमनको बिरुद्धमा रोडमा उत्रिए, कैयौले आफ्नो ज्यानको आहुती पनि दिए। फलस्वरूप सबैको एकीकृत संघर्षले देशमा प्रजातन्त्र आयो। यस्तो लाग्यो कि अब दलित समुदाय माथी भैरहेको जातिय शोषणको अन्त्य हुन्छ। तर भएन,  कथित उपल्लो जातहरूले उ बेला पनि दलित समुदायहरूलाई आफ्नो स्वार्थ पूरा गर्नका निमित्त प्रयोग गरे र आज पनि प्रयोग गरिरहेका छन जस्तै कि दलित समुदाय उनिहरूले लगाउने एउटा चप्पल मात्रै हो। जो कहिले नयाँ हुन्छ त कहिले पुरानो हुन्छ। तर जहिले उनको पाउमा हुन्छ। 

के हामी साच्चै कथित उपल्लो जातको पाउमुनि रहेका चप्पलै मात्र हौं त?

भनिन्छ , Alexander The Great ले १४ बर्षको उमेरमा नै संसार जितेका थिए। नेपालमा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज १४ बर्ष भयो। सत्ताको आडमा जहिले दलित समुदायका मुद्दाहरूलाई बलजफ्ती हराइन्छ। कति कमजोर रहेछ नेपालको कानुन र नेपाली समाजको मानसिकता। मान्छेले, 'म' मान्छे हु, मलाई मान्छेको जस्तै व्यवहार गरियोस् भनेर कानुन बनाउन रोडमा उत्रेर आन्दोलन गर्नुपर्ने देश नेपाल, मेरी छोरीको बलात्कार भयो मालिक हामी उजुरी गर्न आएका भनेर प्रहरी कार्यालय जादा 'छोरीलाई कति जवानी चढेको, राम्रो संस्कार दिनुपर्थ्यो नि' भनेर उजुरी दर्ता नगरिकनै उल्टै धम्काएर पठाउने प्रशासन भएको देश नेपाल? अन्तरजातिय प्रेमको सम्बन्धमा मारियपछी 'किन तल्लो जातीले हामी माथिल्लो जातीको परिवार संग सम्बन्ध गास्ने हिम्मत गरेका' भन्दै हासेर नै मृत्युको श्रद्धाञ्जली दिने देश नेपाल? दलित समुदायले जित्न खोज्दा गर्दनमा छुरा लगाएर हार्न विबस गराउने देश नेपाल,

के यो जरुरी छ? म हार्दा तिमी जित्छौ ठिकै छ, तिम्रो मात्रै जितले के यो समाज परिवर्तन हुन सक्छ? हाम्रा चेलीबेटिहरू बलात्कार हुदा तिमी हास्छौ, के तिम्रा चेलिबेटी बलात्कार हुदा म कहिल्यै हासेको छु, यदि म हास्यो भने तिम्रो मनले सहन गर्न सक्छ? तिम्रा छोराले हाम्री चेलिबेटिलाई प्रेमको झुटो आश्वासन दिएर यौन शोषण गर्दा पनि तिम्रा छोरा पवित्र हुने तर हाम्रा छोराले तिम्रा छोरीलाई प्रेम गरेर विवाह गर्न खोज्दा पनि हाम्रा छोराहरू अपवित्र हुने? वाह! क्या गजबको समाज छ। मैले यो धर्ती नै छोएको छु तर कोहि अपवित्र भएको छैन तर मैले कसैको मन्दिर, धारा, चुलो छोएमा उक्त चिज अपवित्र हुने? के त्यो मन्दिर यहि धर्ती माथी बनेको छैन? के त्यो धाराको पानी यहि धर्तीको गर्भबाट जन्मिएको होइन? के त्यो चुलो यहि धर्तिको कुनै एउटा बिन्दुमा बसेको छैन? अनि कसरी म अपवित्र भए? यहि धर्तीमा तिमी छौ, यहि धर्तीमा म छु, हाम्रो दुरि कति नै छ र? अनि किन हामी एकीकृत हुन नसकेका? किन हामी भित्र एकताको सम्बन्ध कायम नभएको? किन हाम्रो समाज दिनमा पनि राज जस्तै लाग्छ। हामी पनि त समाजको विकास चाहन्छौ, देशमा समृद्धि चाहन्छौ। के हामी र हाम्रो सम्बन्ध बिना नेपालमा बिकास र समृद्धि सम्भव छ? 

निर्दोष एन पि,

ध.उप.म.पा - १३, राजपुर 



बुधबार २१, जेठ २०७७ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.