पश्चिम रुकुम: जातिय विभेद र लासको बिस्कुन

Yugnepal     557 पटक पढिएको    

पश्चिम रुकुम: जातिय विभेद र लासको बिस्कुन

 

निर्दोष एन पि 

"अनेकतामा एकता हाम्रो राष्ट्रको विषेशता" थुप्रै किताबका पानाहरूमा छापिएको मिठो नारा हो यो जसले सम्पुर्ण नेपालीहरू एक वा समान भएको संज्ञा गर्दछ।

के हामी सबै समान छौ त? के हामी बस्ने समाजमा हरेक वर्गका मानिसहरूलाई समान व्यवहार गरिन्छ त? अहिले नेपालको पुर्व देखि पश्चिम् सम्म लकडाउनको उलंघन गरेर पनि थुप्रै नेपालीहरू न्यायका लागि आन्दोलनरत छन। फेरि कस्तो न्याय हो ? कस्तो आन्दोलन हो? यो आन्दोलन जातिय विभेद उपर जन्मिएको एक कडा प्रश्न हो जुन बेलाबेलामा सुनामीको झै रुप लिइरहन्छ, जसले आजको युगमा पनि मानिस-मानिसको बिचमा भैरहेको जातिय विभेदको पराकाष्ठा माथी प्रश्नचिह्न खडा गरि थुप्रै उत्तरहरूको आश गरिरहेको छ। अनेकतामा एकता भएको देशमा यसरी जनमास पटक पटक न्यायका लागि सडकमा उत्रिनु आफैमा एक लज्जाको विषय हो। पुस्तकका पानामा एकता लेखेर व्यवहारमा अनेकता दर्शाउने समाजमा बस्ने हामी कसरी चुप लाग्न सक्छौं ?

केहि दिन अगाडि मात्रै पश्चिम रुकुम, चौरहजारी ८ सोतीमा भएको दुखद घटनामा ज्यान गुमाउन पुगेका नवराज बि.क लगाएत ५ जनालाई जातियताकै आधारमा गाउँलेहरूले कुटपिट गरि मारेर उनिहरूको लासलाई भेरी नदिको किनारमा फालिदिए। के यहि हो, अनेकतामा एकता हाम्रो राष्ट्रको विषेशता ?

युट्युब लगाएत समाजिक संजालहरूमा धेरै जनाले भिडियो साभार गरेका छन, पोस्टहरूलाई अपडेट गरेका छन कि जाजरकोटबाट मीठो सपना बोकेर आफ्नी प्रेमिका सुष्मा मल्लको निमन्त्रणामा उनकै घरबाट उनलाई लिएर आउछु भनेर हिडेका प्रेमिल यात्री स्व नवराज बिक र उनका आत्मीय मित्रहरू कहिल्यै नफर्किने गरि मारेर खोलामा बगाइए र धेरै जनाले यस् घटनालाई जातियताको नाम दिन चाहेनन्। उल्टै नवराज बिकलाई नै गलत ठहर गरियो। हो नवराजले गल्ती नगरेका होइनन्। उनले निस्चय नै गल्ती गरेका थिए तर त्यो गल्तीको सजाय कदापि मृत्यु थिएन। नजिकै कानुन थियो तर कानुनलाई समेत हातमा लिएर ती बिचराहरूको बीभत्स हत्या गरियो जुन हरेक नेपालीहरूका लागि नेपाली हुनुमा निन्दनीय छ। 

 

धेरैले यस घटनाका पात्रहरूको मृत्यु प्रती कुनै आपत्ति जनाएका छैनन र उनिहरूको पक्षमा समर्थन पनि गरेका छैनन। किनभने नवराज बिक दलित समुदायका थिए। उनको मृत्युको पोष्टहरूमा जथाभावी कमेन्ट गर्ने, हा हा रियाक्ट गर्नेहरूको कमि छैन फेसबुकका भित्ताहरूमा। यहि कुराले पनि प्रष्ट हुन्छ कि उक्त घटनाका मृतकहरू जातिय विभेदको शिकार भएका थिए। नत्र अनेकतामा एकता भएको राष्ट्रमा एउटा दाजुभाई मर्दा अर्कोले कसरी खुसी मनाउन सक्छ? एक पटक आफै सोचौं। 

नवराज बिक जातिय विभेदको शिकार नभएको कुरामा धेरैले आफ्ना तर्कहरू पेश गरेका छन। उनिहरूको तर्क यस्तो रहेको छ कि, नवराज बिक संगै गएका उनका मित्र गोविन्द शाही (जो अहिले बेपत्ता छन सायद उनको पनि मृत्यु भएको हुन सक्छ र लास कतै लुकाइएको हुन सक्छ) नवराज बिक 'दलित समुदायका' थिए भने उनी संगै सम्भवत मारिएका गोविन्द शाही 'क्षेत्री' थिए र मारिनेमा दुई फरक समुदायका युवाहरू छन भने यो घटना कसरी एउटै समुदायको मुद्दा वा जातिय विभेद उपर घटेको घटना हुनसक्छ भन्ने तर्क प्रस्तुत गरेका छन। के यो तर्क सहि छ त? के साच्चै यो घटना जातिय विभेदको कारणले घटेको होइन त? अहँ! म त सहमत छैन। 

जुन रात नवराज लगाएत उनका साथीहरू जाजरकोटबाट पश्चिम रुकुमको लागि बाटो लागे, यो खबर हत्याको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका केटि पक्षका परिवारले जानकारी पाई सकेका थिए। तर दु:खद कुरा केटिका परिवारले पुलिस प्रशासनलाई कुनै अवगत नगराई बरु उक्त ठाउका गाउँबासीहरूलाई एकीकृत गरि ती आउदै गरेक युवाहरूमाथी जाइलाग्न योजनाबद्ध रुपले तयारी अवस्थामा तैनाथ थिए। जब ती काचा युवाहरू पश्चिम रुकुमको सोतीमा पुगे, उक्त घटनामा बाच्न सफल एक पिडित प्रत्यक्षदर्शीका अनुसार, उनिहरूलाई तीन तिरबाट घेरा हालेर ढुङ्गामुढा, लाठीहरुले आक्रमण गरियो र नदितिर पिट्दै दौडाइयो। र नवराज लगायत उनी संगै आएका साथी गोविन्द शाहीलाई सम्भवत मारियो। (उनको लास प्राप्त भएको छैन)

गोविन्द शाहीका निधारमा यो लेखिएको थिएन कि उनी क्षेत्री थिए र नवराजका निधारमा पनि यो लेखिएको थिएन कि उनी दलित समुदायका थिए। केटि पक्षका परिवारलाई यत्ति थाहा थियो कि नवराज बिक दलित थिए र उक्त परिवारले नवराज संगै ग्रुपमा आएका अन्य युवाहरूलाई 'तिम्रो जात के हो?' भनेर सोधी सोधी आक्रमण गर्ने कुरै थिएन। उक्त परिवारका लागि ती सबै युवाहरू नवराज बिक नै थिए, दलित नै थिए फलस्वरूप गोविन्द शाही पनि आफ्ना मित्रको प्रेम सन्दर्भमा समर्थन गर्ने क्रममा आफ्नो ज्यानको आहुती दिन पुगे, यसलाई ट्रमाको भाषामा भन्नूपर्दा गोविन्द शाही फेसलेस इनेमी (Faceless Enemy) को सिकार भए। 

जाजरकोटका नवराज बिक,  पश्चिम रुकुमकी सुष्मा मल्लको  परिवारको नजरमा एक किसिमले शत्रु (enemy) नै थिए र उनको संगत गर्ने र उनलाई समर्थन गर्ने जो कोहि सुष्माको परिवारका लागि शत्रु थिए र त्यो जेठ १० गरेको राती नवराज लगायत उनका निर्दोष साथीहरू पश्चिम रुकुम हत्याकाण्डका पात्र हुन पुगे अनि कसरी भन्न सक्छन मान्छेहरूले कि त्यो जातिय विभेदको कारणले घटेको घटना होइन भनेर? 

सन् १९४७ पछि जब भारत अंग्रेज़हरूबाट स्वतन्त्र भयो, त्यसपछी सुरु भयो भारत-पाकिस्तानको घार्मिक युद्ध जसलाई पार्टिसन (Partition) भनिन्छ। त्यसबेला प्रत्येक भारतीय पाकिस्तानका लागि शत्रु थिए भने प्रत्येक पाकिस्तानी नागरिक भारतका लागि शत्रु थिए। यस् लडाईमा लाखौ निर्दोष मानिसहरू फेसलेस इनेमी (Faceless Enemy) को सिकार भए। यो हाम्रो सत्रु हो र यो हाम्रो आफन्त हो भनेर छुट्ट्याउन सजिलो थिएन। जो कोहि हिन्दुजरूलाई मुसलमानहरूले देख्न सक्दैनथे र त्यसैगरी हिन्दुहरूले मुसलमानहरूलाई जसकारण बिना गल्ती लाखौ निर्दोष मानिसहरूले ज्यान गुमाउन पुगे जो नवराजका साथी गोविन्द शाही जस्तै जातियताको लडाइमा सिकार भएका थिए। 

यो घटना जातियताकै आधारमा घटेको हो, यसमा कुनै सन्देह छैन। तर जातियताकै आधारमा घटना घटेको हो भन्दैमा के यसको कुनै हल हुदैन? गौतम बुद्धले भनेका छन - संसारमा दुख छ र दुखको कारण पनि छ। दुखलाई निराकरण गर्न सकिन्छ र दुख निराकरण गर्ने उपायहरू (बाटाहरू) पनि छन। अहिलेको यो समस्यालाई हल गर्ने पनि तरिकाहरू छन। यसरी खुल्लेआम जातियताको आधारमा कसैको हत्या गर्ने अधिकार कसैलाई पनि छैन। यो कुरा सम्पुर्ण वर्गका मानिसहरूले बुझ जरुरी छ। यदि कसैले जानिजानी गल्ती गरिहाल्छ भनेपनी त्यसका लागि कानुन छ, कानुन बमोजिम कार्वाही हुन्छ। तर हत्या गर्ने छुट भने संसारको कुनैपनी देशका जनतासंग छैन। यदि कसैले कानुन भन्दा पनि उपर रहेर हत्या हिंसा गर्छ भने त्यस्ता हत्याराहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिनुपर्दछ। 

हिलोमा ढुङ्गा फाल्दा आफ्नै आङ्गमा उछिट्टिन्छ। त्यसैले दलित समुदायले खुनको बदला खुन भन्ने भावना कहिल्यै पनि आत्मसात गर्दैनन् बरु मिल्न खोज्छन, कानुन मार्फत जान्छन। तर बदलाको भावनालाई कतै आत्मसात गर्दैनन्। हरेक नेपाली चाहे त्यो बाहुन होस् कि क्षेत्री होस् या दलित नै किन नहोस, एउटा अनुरोध छ कि हामी एउटै समाजमा बस्ने मानिसलाई मानिसकै तरिकाले व्यवहार गरियोस् नकि जात, भाषा, धर्म, लिङ्ग आदिका आधारमा। यदि यस्ता विभेदका निन्दनीय घटनाहरू फेरिफेरी घटिरहने हुन भने दलित समुदाय संग रहेको धैर्यताको बाध नफुट्ला भन्न सकिँदैन र हाम्रो देश नेपाल सन् १९९४ को रुवाण्डा नहोला पनि भन्न सकिँदैन जहाँ दुई समुदाय हुतु (Hutu) र तुत्सी (Tutsi) को बिचमा बर्षौ सम्म जातिय द्वन्द चलिरह्यो फलस्वरूप आठ लाख भन्दा पनि बढी मानिसहरूले ज्यान गुमाउन पुगेका थिए। त्यसैले हाम्रो समाजमा रहेका हरेक जाती, धर्म, भाषा, लिङ्गलाई समानताको तराजुमा राखेर प्रत्येक व्यक्तिलाई मानवियताका आधारमा व्यावहार गर्नु आवस्यक छ र यहि मानिसहरूको सबैभन्दा ठूलो धर्म पनि हो। 

 

जात, धर्म, भाषा, लिङ्गको आधारमा गरिने भेदभावलाई निराकरण गर्ने चाहा हरेक नेपालीमा हुनु आवस्यक छ। हाम्रो समाज अन्धविश्वासको पिजडाभित्र अल्झिएको छ। जबसम्म तपाईं हामी मिलेर त्यो पिजडाको ढोका खोल्नलाई प्रयत्न गर्दैनौ तब सम्म कुनै पनि जातिले स्वतन्त्रताको आभाष गर्न सक्दैनन् न त राष्ट्रले समृद्धि अंगाल्न सक्छ। स्वतन्त्रता, समानता, एकता, मानव अधिकार जस्ता कुराहरूलाई मात्र किताबका पानामा सिमित राखेर समाजमा कुनै परिवर्तन आउदैन। समाजमा परिवर्तन ल्याउनका लागि त्यस्ता कुराहरूलाई व्यवहारमा पनि उत्तर्नु पर्दछ। तब मात्र हामीले अनेकतामा एकता हाम्रो राष्ट्रको विषेशता भन्ने नारालाई न्याय दिन सक्छौ। 

पश्चिम रुकुममा घटेको घटना निन्दनीय छ र हरेक नेपालीहरूले यसको बिरुद्धमा आवाज उठाउनु जरुरी पनि छ। किनकि यो एउटा दलित समुदायको मात्र मुद्दा होइन, सारा नेपालीहरूको मुद्दा हो। कसैले गल्ती गर्दैमा मान्छे मार्न भने कदापी पाइदैन। बरू मुद्दा चलाउन पाइन्छ, कानुन बमोजिम कडा सजायको माग गर्न पाइन्छ। रोडमै उत्रिनु पर्दैन तर हरेक नेपालीले घरभित्रैबाट पनि आफ्नो बुलन्द आवाजलाई सम्बन्धीत निकाय सम्म पुर्याउनका लागि र उक्त घटनालाई निस्पक्ष छानबिन गरि घटनामा संगलग्नता भएका हरेक अपराधीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरि बीभत्स हत्याको खबरले ट्रउम्याटिक अवस्थामा रहेका सम्पुर्ण दलित समुदायलाई न्यायको आभाष हुने अवस्थाको सृजना गर्न नेपाली आमाको कोखबाट जन्म लिएका हरेक दाजुभाई तथा दिदिबहिनीहरूलाई यथास्थानबाट सक्दो सहयोग गरिदिनहुन हर्दिक अनुरोध गर्न चाहन्छु। 

निर्दोष एन पि,

ध, उप-म, पा, १३, राजपुर, कैलाली 

 

 



सोमबार १९, जेठ २०७७ ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.