भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा गरिबीदेखि हिटम्यानुसम्म

Yugnepal     1128 पटक पढिएको    

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा  गरिबीदेखि हिटम्यानुसम्म


भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा आजबाट ३३ वर्ष पूरा भए। करिअरको सुरुवातमा संघर्षका पहाड उक्लेका रोहित अहिले उत्कृष्ट लयमा छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनौ रेकर्ड बनाएका रोहितले भारतीय टिममा स्थान बनाउन निकै संघर्ष गरेका थिए। राष्ट्रिय टिममा डेब्यू गरेपछि उनले आफूलाई प्रमाणित ६ वर्षसम्म कुर्नु परेको थियो।

सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम समूह चरणमा संकटमा परेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारतले दोस्रो खेलमा इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राखेको थियो। अन्तिम चारमा पुग्न भारतले दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने थियो।

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गरेको भारतले ६१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तोमा युवा ब्याट्सम्यान रोहित शर्मा पहिलो पल्ट पिचमा आए। एकदिवसीय खेलमा भारतीय टिममा तीन महिनाअघि डेब्यु गरेका उनी टी–२० खेलमा भारतीय टिमबाट पहिलो पटक ब्याटिङ गर्दै थिए।

रोहितले सुरुवाती २ खेलमा मौका पाएका थिएनन्। न्युजिल्यान्ड विरुद्धको पहिलो खेलमा पहिलो रोजाइमा नपरेका उनले इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा ब्याटिङ गर्ने पालो पाएका थिएनन्।

कठिन अवस्थामा भारतको भरोसा बनेका २० वर्षे खेलाडी रोहितले कप्तान महेन्द्रसिंह धोनीसँग ८५ रनको साझेदारी गरेपछि भारतको आसा बढ्यो। दुर्भाग्यवश धोनी ४५ रनमा रनआउटको सिकार बने। तर, रोहितले अन्तिमसम्म ब्याटिङ गरेर भारतलाई बलियो स्थितिमा पुर्‍याएका थिए। उनले नटआउट ५० रन जोडेपछि भारतले १ सय ५३ रन जोडेको थियो। रोहितकै इनिङमा भारतले खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। पछि भारतले टी–२० विश्वकप नै कब्जा गर्‍यो।

खेलपछि अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान इयान चापेलले रोहितको प्रशंसामा शब्दहरु खर्चिएका थिए। चापेलले रोहित विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने प्रतिक्रिया दिएका थिए। करिअरको सुरुवाती समयमै कभर ड्राइभमा लगातार रन हान्न सक्ने र ब्याक फुटबाट स्क्वायर ड्राइभमा ब्याट घुमाउने रोहितको शैलीबाट इयान प्रभावित थिए।

उनको पोजिसनका साथै बललाई आफ्नै तरिकाले प्रहार गर्न सक्ने शैली गजबको थियो। क्याच लिन र फिल्डमा रन रोक्न माहिर रोहितको डाइरेक्ट हिटमार्फत रन आउट गराउन सक्ने क्षमता रहेकाले अस्ट्रेलियन पूर्व कप्तान चापेल रोहितप्रति मोहित बनेका थिए।

चापेलले १३ वर्षअघि गरेको विश्लेषणअनुरुप रोहितले अहिले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले पछिल्लो ७ वर्षमा लामो रेकर्डको सूची बनाइसकेका छन्।

भारतको मुम्बई नजिकैको विरोभी गाउँमा हुर्किएका रोहित सामान्य परिवारका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए। क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए। क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै विवेकानन्द स्कुलमा भर्ना हुन सुझाव दिए। किनकि त्यहाँ प्रतिभाशाली क्रिकेटरलाई छात्रवृत्ति दिइन्थ्यो।

ुप्रशिक्षकको सिफारिसमा मैले स्कुलमा भर्ना पाएँ। स्कुलमा छात्रवृति पाएपछि चार वर्ष लगातार क्रिकेट सिकेपछि क्रिकेटर भएर बाहिर निस्केँु, रोहितले क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा भनेका थिए।

सुरुवातमा उनी अफ स्पिनर थिए। थोरबहुत ब्याटिङ गर्थे। स्थानीय प्रतियोगितामा राम्रो खेल्न थालेपछि उनी मुम्बईको टिममा परे। त्यसपछि उनी ब्याटिङमा बढी केन्द्रित हुन थाले। उमेरसमूहको राष्ट्रिय टिममा स्थान बनाएका उनले सन् २००६ को यू–१९ विश्वकपमा भारतीय टिमको जर्सी लगाए।

यू–१९ विश्वकपमा फिनिसरको भूमिकामा रहेका उनी बढी रन प्रहार गर्ने उत्कृष्ट १० खेलाडीको सूचीमा थिए। त्यही वर्ष रणजी ट्रफीमा डेब्यू गरेका उनले सिजनमा ६ सय रन प्रहार गरेका थिए। रणजी ट्रफीमा प्रभावशाली प्रदर्शनपछि उनी सन् २००७ मा राष्ट्रिय टिममा परेका थिए।

त्यसयता उनले क्रिकेटमा धेरै रेकर्ड बनाइसकेका छन्। उनी सन् २०१५ मा टी–२० खेलमा शतक प्रहार गर्ने दोस्रो भारतीय खेलाडी बनेका थिए।

सन् २०१४ मा रोहितले एकदिवसीय खेलको एकै इनिङमा बढी रन प्रहार गर्ने रेकर्ड बनाएका थिए। श्रीलंका विरुद्ध २ सय ६४ रन प्रहार गर्दै उनले रेकर्ड बनाएका थिए। खेलमा उनले १ सय ७३ बलमा ३३ चौका र ९ छक्का प्रहार गरेका थिए। उनी एकदिवसीय खेलमा एकै इनिङमा बढी चौका प्रहार गर्ने खेलाडी पनि हुन्। रोहितले एकदिवसीय खेलमा एकै इनिङमा १६ छक्का प्रहार गरेर पनि रेकर्ड बनाएका छन्।

उनले सन् २०१३ मा अस्ट्रेलिया विरुद्ध एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए।

उनले सन् २०१९ विश्वकपमा पाँच शतक प्रहार गर्दा ६४८ रन बनाए। उनी विश्वकप २०१९ का सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहे। मात्र २६ रनले सचिनले एकै विश्वकपमा बनाएको सर्वाधिक रनको कीर्तिमान भंग गर्नबाट उनी चुके। सेमिफाइनलमा उनले २७ रन बनाउँदा यो रेकर्ड तोडिनेवाला थियो तर अफ्शोच उनी १ रनमै पेभेलियन फर्किए।

सचिनले सन् २००३ को क्रिकेट विश्वकपमा ६७३ रन बनाएका थिए। उनले ११ खेलबाट सो रन जोडेका थिए।

विश्वकपको शतकमा भने उनले कीर्तिमान बनाए। लगातार तेस्रो शतक प्रहार गरेका रोहितको सन् २०१९ को विश्वकपमा पाँच शतक हिर्काए। विश्वकपको एकै संस्करणमा पाँच शतक प्रहार गर्ने रोहित पहिलो खेलाडी बने।

उनले एकै विश्वकपमा चार शतक प्रहार गर्ने श्रीलंकाका कुमार सांगाकारासँगको रेकर्ड बराबरी गरेका थिए। सांगाकाराले सन् २०१५ विश्वकपमा चार शतक प्रहार गरेका थिए। यद्यपी सांगाकाराले लगातार चार खेलमा शतक प्रहार गरेका थिएनन्।

रोहितले विश्वकपमा बढी शतक बनाउने रेकर्ड पनि बराबरी गरे। उनले सचिन तेन्दुलकरको नाममा रहेको ६ शतकको रेकर्ड बराबरी गरे।

इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सर्वाधिक सफल कप्तान रोहितले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई चार पटक उपाधि दिलाइसकेका छन्। सन् २०१३ मा कप्तान नियुक्त भए यता उनले आइपिएलमा ४ हजार रन कटाइसकेका छन्। उनी आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीमा विराट कोहली र सुरेश रैनापछि तेस्रो स्थानमा छन्।

रोहित एकदिवसीय खेलमा तीन पटक दोहोरो शतक प्रहार गर्ने एक्ला खेलाडी हुन्। यस्तै उनी एकदिवसीय खेलमा एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी हुन्। उनले सन् २०१४ को नोभेम्बरमा श्रीलंकाविरुद्ध प्रहार गरेको २६४ रन एकै इनिङको सर्वाधिक रन हो।

त्यसअघि उनले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध २०९ प्रहार गरेर पहिलो पटक दोहोरो शतक बनाएका थिए। उनले सन् २०१७ को डिसेम्बरमा श्रीलंकाविरुद्ध पनि दोस्रो शतक हिर्काउदा तेस्रो दोहोरो शतकको रेकर्ड बनाएका थिए।

उनले अहिलेसम्म २२४ एकदिवसीय खेल खेलिसकेका छन्। एकदिवसीय खेलमा ९ हजार रन कटाइसकेका छन्। उनले २९ एकदिवसीय शतक र ४३ अर्धशतक प्रहार गरेका छन्।

सन् २०१३ मा टेस्टमा डेब्यु गरेका रोहितले ३२ टेस्ट खेलेका छन्। टेस्टमा उनले छ शतक प्रहार गरेका छन्। उनले टी–२० मा १०८ खेलमा २७ सय रन पूरा गरेका छन् भने ४ शतक प्रहार गरेका छन्। समग्रमा उनले ३९ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्।

निरन्तर उत्कृष्ट प्रदर्शन र त्यसमाथि पनि बाउन्ड्रीको वर्षा गर्ने गरेकाले उनी क्रिकेट जगतमा ुहिटम्यानु उपनामले चिनिन्छन्।

करिअरको उत्कृष्ट लयमा देखिएका रोहित अझै राम्रो खेल्ने बताइरहेका छन्। श्रीलंका विरुद्ध छिटो शतक बनाएपछि उनले भनेका थिए, ुमैले राम्रो रन हान्ने कोसिस गरिरहेको थिएँ। कोसिस सफल हुँदा निकै राम्रो ब्याटिङ गर्न सकेँ। अझै राम्रो खेल्ने कोसिस गर्नेछु।

सेतोपाटी बाट साभार



बिहिबार १८, बैशाख २०७७ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.