योजनाहरूको निर्माण कार्य अगाडि बढाउन प्रशासनहरूसंग समन्वय गरिदै

Yugnepal     896 पटक पढिएको    

योजनाहरूको निर्माण कार्य अगाडि बढाउन प्रशासनहरूसंग समन्वय गरिदै

धनगढी । लकडाउन कारण सुदूरपश्चिम प्रदेशमा एक महिनादेखि सम्पूर्ण विकास निर्माण कार्य ठप्प भएका छन् ।
प्रदेश गौरवका योजनाहरू, प्रदेशमा रहेका राष्ट्रिय गौरवका योजना, जलविद्युत आयोजना, पुल, सडक लगायतका विकास निर्माण कार्य लकडाउनका कारण रोकिएका छन् । धनगढी विमानस्थलको स्तरोन्नतीको काम पनि बन्द छ । यसअघि, विमानस्थल बन्द गरेर स्तरोन्नतीको काम अगाडि बढाइएको धनगढी विमानस्थलमा बन्दको बेलामा भने काम हुन नसकेको विमानस्थल प्रमुख तेज बुढथापाले बताए ।
लकडाउन भएका कारणले प्रदेशमा रहेका योजनाहरूको अत्यावश्यक कामहरू मात्रै जारी रहेको सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बताए । उनले खानेपानी, पुल जस्ता अत्यावश्यक विकासका योजनाहरूलाई थोरै मजदुर राखेर निर्माण गरिरहेको बताए ।
प्रदेश गौरवका योजनाहरूमा पनि थोरै मजदुर लगाएर गर्न सकिने कामहरू मात्रै भइरहेका छन् । वर्षात्का कारण भएको काममा समेत क्षति पुग्ने भएर त्यसलाई व्यवस्थापन गर्ने र थोरै मजदुर भएर गर्न सकिने विकास कार्य मात्रै सञ्चालनमा रहेको पुर्वाधार विकास मन्त्री बोहराले बताए । उनले बहुवर्षीय योजनाहरूको पनि ठेक्का प्रक्रिया भने भइरहेको बताए ।
पछिल्लो समयमा विकास निर्माणका कामहरू अगाडि बढाउनका सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूसंग समन्वय गर्न थालेको मन्त्री बोहराले बताए । उनले यसवर्षका योजनाहरूलाई कसरी अगाडि बढाउने विषयमा छलफल भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयहरूमा करिब १० अर्ब रुपैयाँ बराबरको विकास योजनाहरू चालुआर्थिक वर्षमा राखिएका छन् । प्रदेशको समग्र बजेट खर्च हालसम्म २० प्रतिशतको हाराहारीमा मात्रै भएको छ ।

कैलालीमा दुई योजनालाई काम गर्ने अनुमति
जिल्ला प्रशासन कार्यालय कैलालीले दुई वटा योजनाको काम अगाडि बढाउन अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मोहनापुल–अत्तरिया छ ल्यान सडक निर्माणको काम अगाडि बढाउन र कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने चटकपुर र कञ्चनपुरको लालझाडी गाउँपालिकामा राजघाट जोड्ने मोहना—राजघाट पुलको निर्माण गर्ने अनुमति दिइएको छ ।
मोहना—राजघाट पुलको निर्माण कार्य मंगलबार नै शुरु भएको छ भने मोहनापुल–अत्तरिया छ ल्यान सडक निर्माणको काम बुधबारबाट शुरु भएको छ । लकडाउनका कारण रोकिएका योजनाहरूको काम कामदारको सुरक्षालाई ध्यानमा राख्दै सञ्चालनमा ल्याउन प्रशासनले अनुमति दिएपछि ति दुई योजनाको काम सुरु भएको छ ।
सुरक्षाका मापदण्ड अपनाएर दुई आयोजनाका काम अघि बढाउन अनुमति दिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले प्रशासनमा पाँच वटा आयोजनाहरूको अनुमतिका लागि निवेदन परेकोमा दुई वटालाई अनुमति दिइएको बताए । अनुमति दिइएका आयोजनाहरूको निर्माण कार्र्य अनुगमन समेत गरिने उनले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरकारले महत्वपूर्ण योजनाहरू सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिन मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिने र बाहिरका कसैलाई संलग्न नगराई कोरोना संक्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गर्न अनुमति दिएको बताए ।
उनले आयोजना सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरू बनाइएको जनाए । योजनाको काममा कुनै पनि बाधा अबरोध भएमा प्रशासनले योजनाको अवस्था, भौतिक प्रगति लगायतको अवस्थाका आधारमा सञ्चालनको अनुमति दिइरहेको उनले बताए ।
मोहनापुल–अत्तरिया छ ल्यान सडकको निर्माण कार्य एक वर्ष पहिले नै सम्पन्न गरिसक्नु पर्ने भएपछि स्थानीयको अवरोध, विजुलीको पोल सार्न ढिलाई लगायतका कारण म्याद सकिएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिब्रता दिइएको थियो । तर लकडाउनले गर्दा सडक निर्माण पुनः रोकिएको थियो । आउँदा असारभित्रै निर्माण सम्पन्न गरिने भनिएको मोहनापुल–अत्तरिया छ ल्यान सडकको निर्माण सम्पन्न हुने मिति अनिश्चित भएको छ । सो सडकको निर्माणको अनुमति पाएपनि सडक कालोपत्रे गर्ने मजदुरहरू लकडाउनपछि घर फर्किएकाले तत्काल पिच गर्ने कार्य भने अगाडि बढाउन नसकिने आयोजना कार्यालयले जनाएको छ ।
सम्झौता अनुसार तीन वर्षअघि नै निर्माण भइसक्नु पर्ने मोहना—राजघट पुल ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र परेको थियो । कैलाली र कञ्चनपुरको सिमा भएर बग्ने मोहना नदीमा काम सुरु भएको साढे पाँच वर्ष पुग्नलाग्दा पनि पुल निर्माण हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय कन्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । विभिन्न कारण देखाएर पटक–पटक सो पुलको म्याद थपिदै आएको छ । एक सय २० मिटर लामो पुलका लागि तीन वटा मध्ये दुईवटा पिल्लर बन्न बाँकी छ । सुरुमा सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । पुलको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने अझै करिब २५ प्रतिशत काम बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर दिनेश बटलाले जनाए ।



सोमबार १५, बैशाख २०७७ ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.