गौरीफण्टा नाकामा खटिएका सशस्त्र प्रहरीहरुको रिपोर्ट नेगेटिभ

कैलाली

Yugnepal     824 पटक पढिएको    

गौरीफण्टा नाकामा खटिएका सशस्त्र प्रहरीहरुको रिपोर्ट नेगेटिभ

धनगढी । कैलालीको गौरीफण्टा नाकामा भारतबाट नेपाल फर्किएका नेपालीहरुको भीड नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढी अन्तर्गत विभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाब परीक्षण गरिएको छ।

कैलाली–कञ्चनपुरमा खटिएको स्वास्थ्यकर्मीको टोलिले र्‍यापिड टेष्टका क्रममा सशस्त्र प्रहरीको पनि स्वाब लिएको थियो। ति सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ।

चैत १० र ११ गते गौरीफन्टा नाकामा रोकिएका झण्डै एक हजारको भीडको व्यवस्थापन तथा सुरक्षामा खटिएका, सीमा तथा फिल्डमा खटिएका सशस्त्र प्रहरीहरुको र्‍यापिड टेष्ट गरिएको हो। गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनासहित र्‍यापिड टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो।

भारतबाट फर्कदै गरेका करिब एक हजार जना नेपालीको भीडमा गौरीफन्टा नाकाबाट आएका एक जनामा कोरोनाको संक्रमण भेटिएको थियो। उनी सेती प्रादेशीक अस्पतालमा उपचाररत रहेका छन्।

भीड तथा फिल्डमा खटिएका ७३ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि आजदेखि उनीहरु फिल्डमा खटिने गणपति तिम्सिनाले जानकारी दिए।

गणपति तिम्सिनाकाअनुसार बीओपी त्रिनगरका २५ र अत्तरीयाका १५ जना सशस्त्र प्रहरी समेत क्वारेन्टाइनमा राखिएका छन्। उनीहरुको समेत नमुना परीक्षण गरिनेछ।

भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण हालसम्म फिल्डमा खटिएका सबै सुरक्षाकर्मीहरुको नमुना परीक्षण गरिँदैछ।

सशस्त्र प्रहरीबाट शुरु भएको  र्‍यापिड टेष्ट आजै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीहरुमा पनि गरिँदैछ।



बिहिबार २७, चैत २०७६ ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.