नेपालमा पहिलोपटक व्यक्तिबाट व्यक्तिमा सर्‍यो कोरोना, ९ पुगे संक्रमित  स्वास्थ्य प्रवक्ता

युग संवाददाता     782 पटक पढिएको    

नेपालमा पहिलोपटक व्यक्तिबाट व्यक्तिमा सर्‍यो कोरोना, ९ पुगे संक्रमित  स्वास्थ्य प्रवक्ता


नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस कोभिड–१९०को सङ्क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए। 

मन्त्रालयले नेपालमा थप तीन जनामा भाइरसको संक्रमण भेटिएको पनि जानकारी दिए। मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता देवकोटाले यस्तो बताएका हुन्। 

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको ‍प्रवक्ता देवकोटाको भनाइ छ। कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन्। 

उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको डा। देवकोटाले भने। तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो। 

गत चैत ४ गतेको कतार एअरको फ्लाइट क्युआर ६५२ बाट नेपाल आएका ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो। काठमाडौंकी एक युवतीको राजधानीको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। सोही उडानमा नेपाल आएका बागलुङका २ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यसैगरी दुबईबाट नेपाल आएका एक युवामा पनि कोरोना संक्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अर्का धादिङका युवामा पनि कोरोना संक्रमणको पुष्टि भएको र उनको हाल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ। नेपालमा पहिलोपटक गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो।



शनिबार २२, चैत २०७६ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.