कम्युनिस्ट तानाशाहले संविधान संकटमा पर्दैछ यादव

Yugnepal     690 पटक पढिएको    

कम्युनिस्ट तानाशाहले संविधान संकटमा पर्दैछ  यादव


जनकपुर । समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानको आयु लामो नरहेको जिकिर गरेका छन् । नेपाल बौद्धिक पेसाकर्मी महासंघले सोमबार जनकपुरमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै यादवले भने, ‘हरेक दृष्टिकोणले त्रुटिपूर्ण संविधानमा संशोधन भएन भने लामो समयसम्म टिक्दैन ।’

संविधानमा न्याय प्रणाली, शासन प्रणाली, निर्वाचन प्रणाली र संघीयताको संरचनामा व्यापक त्रुटि रहेको उल्लेख गर्दै यादवले उक्त त्रुटिको पक्षपोषण गरी सरकार मुलुकमा एकाधिकार लाद्ने दुष्प्रयासमा लागेको बताए ।


‘केपी ओली नेतृत्वको सरकार हिटलरको बाटोमा अघि बढिरहेको छ,’ उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई निमोठेर जनतालाई धेरै समयसम्म गुमराहमा राख्ने दिन गइसक्यो । यो प्रवृतिमा तत्काल सुधार नभए राष्ट्रिय एकता भंग हुन्छ र अन्ततः संविधानको अवशान हुन्छ ।’

संविधानसभाबाट बनाइएको भनेर वर्तमान संविधानबारे जनतामा भ्रम फैलाउने काम भएको जिकिर गर्दै उनले भने, ‘कांग्रेस, एमाले र माओवादीका तीन जना मिलेर सीमित वर्गको हितमा बनाइएको संविधानलाई पारित गराउन संविधानसभामा ह्विप जारी गरियो । यस्तो प्रक्रियाले दुनियाँको कुनै पनि संविधान जारी भएको छैन ।’

संविधानसभामा प्रस्तुत गरिएको खाकामा संशोधन गर्न ३८१ वटा संशोधन प्रस्ताव दर्ता भएको अवस्थामा ती प्रस्ताव उपर समान्य छलफलसमेत नगरी बालुवाटारको एउटा कोठामा तयार पारिएको दस्तावेजलाई संविधानसभाबाट जारी भएको भन्ने भ्रम फैलाइएको उनको दाबी थियो ।

कार्यशालामा राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ९० प्रतिशत बहुमतबाट जारी गरेको भनिएको संविधानविरुद्ध ६० प्रतिशत जनता आन्दोलित रहेको ठोकुवा गरे । प्रमुख दलको दबावमा ह्विप लादेर जबरजस्ती जारी गरिएको संविधान सर्वस्वीकार्य हुन नसकेको उल्लेख गर्दै उनले संशोधनका लागि समाजवादी पार्टी र राजपा एकजुट भएर अघि बढ्ने बताए ।

संविधानसभाबाट संविधान जारी गराउन रगत बगाउने समुदायले नै संविधानप्रति अपनत्वबोध गर्न नसक्नुको अर्थ बुझेर प्रमुख दलको नेतृत्वले गम्भीरता प्रकट गर्नुपर्ने सुझाए ।

कार्यक्रममा समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले शासकीय र निर्वाचन प्रणालीमा तत्काल परिमार्जन गर्नुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘जारी नहुँदै असन्तोष प्रकट हुन थालेको संविधानलाई सर्वस्वीकार्य बनाउन गम्भीरता नदेखाए नेकपालाई आउने चुनावबाट जनताले तह लगाउनेछन् ।’

प्रदेश नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झाले संविधान संशोधनको कुनै विकल्प नरहेको ठोकुवा गरे । संविधानको धारा ११ र ६ लाई संशोधनको विकल्प नरहेको बताउँदै उनले धारा २८९ लाई खारेज नै गर्नुपर्ने बताए । गर्भबाटै विरोध सुरु भएको संविधानलाई धकेलेर लम्ब्याउन सकिने भए पनि सुरक्षित कार्यान्वयन गर्न सक्ने कुनै आधार नभएको उनको दाबी थियो ।


 



सोमबार २७, माघ २०७६ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.