काँग्रेसद्वारा प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता

Yugnepal     801 पटक पढिएको    

काँग्रेसद्वारा प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गराउने माग गर्दै प्रदेश सभामा मंगलबार संकल्प प्रस्ताव दर्ता गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट मंगलबार प्रदेश सभा सचिवालयमा सो प्रस्ताव दर्ता गरिएको छ । संकल्प प्रस्तावमा काँग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल प्रस्तावक तथा कांग्रेसकै प्रदेश सभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेका छन् ।
संकल्प प्रस्तावमा उल्लेख छ– भारत सरकारले केही महिनाअघि नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कालापानी क्षेत्रलाई भारतीय नक्सामा समावेश गरेको तथ्यप्रति हामी सबै जनप्रतिनिधिहरूको गम्भीर ध्यानाकर्षण भएको छ । सुगौली सन्धीले काली नदी पश्चिम भारतीय भूभाग भनी स्पष्ट किटानी गरेकोमा नेपालको सार्वभौमिक सीमामाथि एकतर्फी रुपमा अतिक्रमण गरेको भारत सरकारको कदम दुःखद एवं आपत्तिजनक छ ।
संकल्प प्रस्तावमा “भारतीय सरकारले हाम्रो भूमि अतिक्रमण गरिरह“दा नेपाल सरकार र प्रदेश सरकार मौन देखिनु दुःखद विषय हो । तसर्थ, यो प्रदेश सभा उक्त मिचिएको नेपाली भूमि अविलम्ब फिर्ता गराउन र राष्ट्रिय अखण्डतालाई जोगाउन दृढताका साथ यो संकल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले अविलम्ब उक्त मिचिएको भूमि भारत सरकारको नक्साबाट हटाउन पहल गरोस भन्न जोडदार माग गर्दछौ ।
प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेपछि प्रस्तावका प्रस्तावक प्रदेश सभा सदस्य मल्लले सो प्रस्ताव सदनबाट सर्वसम्मतिले पारित हुने विश्वास व्यक्त गरे ।
“आज ।९मंगलबार० यो संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ” प्रस्ताव दर्ता भएपछि अनुमोदनसंग कुरा गर्दै प्रस्तावका प्रस्तावक प्रदेश सांसद मल्लले भने– मुलुकको सिमा तथा भूमि मिचिएको सर्वांधिक चासो र महत्वको यो विषय सदनमा सर्वसम्मतिबाट पारित हुने हाम्रो विश्वास छ ।
उनले राष्ट्रियता तथा राष्ट्रिय अखण्डतासम्बन्धी अत्यन्त संवेदनशील विषयमा दलगत राजनीतिक आस्था अथवा सत्तापक्ष वा प्रतिपक्षीका रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण हुने बताए । उनले भने– यो हामी सबैको साझा राष्ट्रिय सवाल हो । त्यसैले यो सवालमा पक्ष वा विपक्ष होइन, हामी सबै एकमत र एकजुट हुनै पर्दछ ।
प्रदेश सभा नियमावली अनुसार संकल्प प्रस्ताव ७२ घन्टापछि छलफलका लागि सदनमा पेस हुनेछ ।
भारत सरकारले केही महिनाअघि नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतको नक्सामा समावेश गरि सार्वजनिक गरेको थियो ।
भारतले नेपाली भूमि आफ्नो नयाँ नक्सामा समावेश गरेको विषयमा सर्वत्र व्यापक विरोध भइरहेको छ । तर, भारतले अहिलेसम्म आफ्नो नक्साबाट नेपाली भूमि हटाएको छैन ।
प्रदेश सभा सदस्य मल्लले नेपाली भूमि मिचिएको ध्यान अन्यत्र मोड्न यतिवेला एमसीसीमा विवाद चर्काइएको आशंका व्यक्त गरे । उनले भने– अहिले एमसीसीको विवाद चर्काएर भारतद्वारा अतिक्रमितत नेपाली कालापानी, लिम्पियाधुरा, लिपुलेकको सवाल ओझेलमा पार्ने प्रयास गरिदैछ ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली का“ग्रेसले संसदमा पटकपटक नेपाली भूमि मिचिएकाबारे आवाज उठाउदै आएको छ ।
गत आइतबारको प्रदेश सभा बैठकको सून्य समयमा नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले “संसदले संकल्प प्रस्ताव ल्याएर पारित गर्दै संघिय सरकारलाई सिमा मिचिएकोबारे छिटो स्पष्ट गर्न दबाव दिनुपर्ने’ माग गरेका थिए ।
प्रदेश सांसद खड्काले प्रदेशको भूमि भारतले मिच्दा समेत प्रदेश सरकार मौन बसेको आरोप लगाएका थिए । उनले भनेका थिए– लिम्पियाधुरा, कालापानी आदि नेपाली भूभाग भारतले आफनो नक्सामा समावेश गरेकोबारे देशभरी चर्चा छ । हाम्रो प्रदेशको सिमाना मिचिदा पनि प्रदेश सरकार मौन छ ।



बुधबार २२, माघ २०७६ ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.