सुदूरपश्चिम खप्तड गोल्डकप हुने प्रथम पुरस्कार २१ लाख

Yugnepal     1025 पटक पढिएको    

सुदूरपश्चिम खप्तड गोल्डकप हुने  प्रथम पुरस्कार २१ लाख

धनगढी सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि  धनगढीमा हुने भएको छ ।
आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी पुरा भएको आयोजकले जनाएको छ ।
चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा समेत जुटेको  हो ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति बनाइएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
 प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।

दुई विदेशीसहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए। धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५र१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ।

फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन्। १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी(डिस होम)ले गर्ने छ।

यसपालीको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ। मुख्य प्रायोजक सम्बन्धी सम्झौतामा क्लबका तर्फबाट अध्यक्ष सुरेश हमाल र सिजी व्रुअरीका तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज घिमिरेले सम्झौता गरेका छन्।  

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोबल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप सगरमाथा सिमेन्ट रहेको छ। त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ।

सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 



आइतबार १९, माघ २०७६ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.