सुदूरपश्चिममा पर्यटकलाई मौलिक परम्पराअनुसार स्वागत गर्न मुख्यमन्त्री भट्टको आग्रह

Yugnepal     996 पटक पढिएको    

सुदूरपश्चिममा पर्यटकलाई  मौलिक परम्पराअनुसार स्वागत गर्न   मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटकका लागि सुदूरपश्चिम ‘भर्जिन ल्यान्ड’ भएको बताएका छन्।

‘हिमाल पहाड र तराईमा मा छुट्टाछुट्टै धार्मिक सांस्कृतिक र प्राकृतिक विशेषता भएका पर्यटकीयस्थल छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘जसको प्रचार(प्रसार हुन नसक्दा हामीले लाभ लिन सकेका छैनौं, अब यो भर्जिन ल्यान्डमा पर्यटक भित्र्याउन हामी सबैले आ(आफ्नो क्षेत्रबाट लाग्नु पर्दछ।’

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश आउने पर्यटकलाई आफ्नै मौलिक परम्पराअनुसार स्वागत गर्न आग्रह गरे। उनले पर्यटकलाई गरिने व्यवहार र मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिए।

‘हामी पर्यटकलाई सेवा दिनेभन्दा स्वार्थ लिन केन्द्रित हुने गरेका छौं,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसो गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश जान सक्दछ, त्यसैले पर्यटकलाई लुट्ने हैन खुसी बनाउने भावनाको विकास गरौं।’

मुख्यमन्त्री भट्टले पर्यटकलाई आफ्नै मौलिकताअनुसारको स्थानीय परिकार र संस्कृतिअनुसार सम्मान गर्न सुदूरपश्चिमवासीलाई आग्रह गरे

‘हाम्रो मौलिकता नै सुदूरपश्चिमको चिनारी हो,’ मुख्यमन्त्री भट्टले भने, ‘यही मौलिकताको प्रचार(प्रसार गरी हाम्रो क्षेत्रलाई विश्वभर चिनाउन आवश्यक छ, जसले बढीभन्दा बढी पर्यटक यस क्षेत्रमा भित्रिन सकुन्।’

मुख्यमन्त्री भट्टले पर्यटन व्यवसायीलाई खप्तड, बडीमालीका, शैपाल, अपिजस्ता पर्यटकीय स्थानमा स्तरीय होटल व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरेका छन्।

विश्वमै सबभन्दा रमणीय स्थल सुदूरपश्चिममा हुँदाहुँदै पनि त्यसता क्षेत्रमा स्तरीय होटल नहुँदा पर्यटक पुग्न सकेका छैनन्,’ मुख्यमन्त्री भट्टले भने, ‘अब त्यसता क्षेत्रमा लगानी बढाउनुस्, प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ।’

उनले पर्यटकीय स्थलमा होटल व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीलाई प्रदेश सरकारले जग्गासँगै भौतिक तथा सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यसअघि धनगढीको ट्राफिक चौराह र क्याम्पसरोडबाट बाजागाजासहित र्‍यालीसमेत निकालिएको थियो। पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि पर्यटन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।



बुधबार १६, पुष २०७६ ०६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.