सुध्रिएन कैलाली मालपोत

पत्रपत्रिका

Yugnepal     1577 पटक पढिएको    

सुध्रिएन कैलाली मालपोत


धनगढी  ०७५ साल चैतयता पनि सेवामा सुधार नआएको जनगुनासोपछि हाम्रो टीम ०७६ मंसिर १५ र १६ गते आइतबार र सोमबार फेरि कैलाली जिल्ला मालपोत कार्यालय पुग्यो  ।आइतबार दिउँसो २ बजेतिर कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीकी ६० वर्षीया पानमतीदेवी भाट र उनकी सौता पार्वतीदेवी भाट मालपोत कार्यालयको छतमा लखतरान भएर बसेका थिए । एक जना भतिजा कार्यालयमा तलमाथि गरिरहेका थिए भने बेला बेला एउटा लाइनमा पार्वती र अर्को लाइनमा पानमतीलाई उभ्याइरहेका थिए ।

मालपोतको दर्ता चलानीदेखि कम्प्युटर, तामेली, रजिस्ट्रेसनलगायत सबै फाँटमा थेगी नसक्नु भीड भएकाले उनी छिटो पालो आउला भनेर यसो गरिरहेका थिए । एक ठाउँको काम सकेर अर्को ठाउँमा लाइन बस्नुपर्ने भएकाले छिटो काम सक्न पहिलेदेखि नै लाइनमा मान्छे उभ्याइरहेका थिए ।

‘बुढो शरीर, लाइनमा कसरी उभिनु रु    नसकेर छेउमा आएर बसेकी हुँ,’ पानमतीले भनिन्, ‘सात दिन भयो आजको दिन लगाएर काम भएको छैन ।’ पानमती र पार्वती मृत्यु भएका पतिको नाममा रहेको जग्गा मरुवाको सरुवा गरेर आ– आफ्नो नाममा नामसारी गर्न ७ दिनदेखि मालपोत धाइरहेका हुन् ।

ओलानीबाट धनगढी आउन एक जनाको १ सय ५० रुपैयाँभन्दा बढी खर्च हुन्छ । ‘परिवारका ६÷७ जना नै आउनुपर्ने रहेछ । ७ दिनमा ४० हजारभन्दा बढी खर्च भइसक्यो, तैपनि काम भएको छैन,’ सोमबार पनि मालपोतको पहिलो तलामा रहेको कम्प्युटर कक्षको बाहिर लाइन लागेकी पार्वतीले भनिन् । ‘हामी लाइनमा बसेका छौं, पालै आउँदैन । उताबाट पछि आएका पनि काम गरेर गइसके ।’

धनगढी उपमहानगरपालिका–३ का हरिकृष्ण कडायत उप–प्राध्यापक हुन् । मंसिर २६ गते उनको छोरीको विवाह छ । छोरीको बिहेका लागि जग्गा धितो राख्न हालसाबिक गराउन आएका उनलाई मालपोतमै ५ दिन लागिसकेको छ । उनले जग्गाको हालसाबिकका काम नै ५ दिनमा समेत नसकिएको बताए । ‘बुधबारदेखि आउन थालेको हुँ, सोमबारसम्म कम्प्युटर फाँटको लाइनमा छु, सायद आज सकिन्छ कि,’ उनले भने ।

उनको साबिकको जग्गामा सवा एक कट्ठा जग्गा कम निस्किएको छ । ‘अहिले, त्यो जग्गाको मूल्य ८० लाख पर्छ, तर न नापीले पत्ता लगाइदियो, न मालपोतले नै,’ उनले भने । उनले कार्यालयको व्यवस्थापन लथालिंग भएको बताए । ‘न त लाइन व्यवस्थित छन्, न कर्मचारी कोठामा बस्छन्, नास्ता खान गएको कर्मचारी काँ गएर बस्छन् पत्तै पाइँदैन,’ उनले भने ।

उनले आफू जस्तो जानेबुझेको मान्छेको त मालपोतमा यस्तो हालत हुँदा गाउँबाट आएका सोझासाझाको अवस्था कस्तो दयनीय होला भनेर चिन्ता व्यक्त गरे । ‘मलाई पाँच दिन भयो, अझ सोझासाझाको के हालत होला रु ’, उनले भने ।

धनगढी उपमहानगरपालिका–१ का हरिप्रसाद पाण्डे सेवानिवृत्त कर्मचारी हुन् । पत्नी देवकीकुमारी पाण्डेको नामको जग्गाको हालसाबिक गराउन उनी मालपोत धाउन थालेको ३ दिन भयो । ‘नापीमै ३ दिन लगाए, मालपोतमा पनि ३ दिन भइसक्यो, बुढाबुढी दिनभरि आउँछौं, लाइनमा उभ्भिँदा थाकेर बसेको,’ भुइँतलामा रहेको रजिस्ट्रेसन फाँट बाहिरको कुर्सीमा सुस्ताइरहेका उनले भने ।

‘माल अड्डाका कर्मचारी आफैं ढिला हुन्छन्, सेवाग्राही पनि बढी नै छन् । लेखापढी व्यवसायीलाई पैसा दिए फटाफट काम हुँदो रहेछ, मैले दिइनँ । अनि यत्तिका दिन लगाइरहेका छन्,’ उनले भने । मालपोत प्रमुखले मात्रै अलिक खटेर काम गर्ने हो भने यी सबै व्यवस्थापन हुनसक्ने बताए ।

एकाबिहानैदेखि लाइन

दोस्रो दिन सोमबार अन्नपूर्णको टीम बिहान ९ बजे नै मालपोत पुग्यो । मालपोतका हरेक फाँटमा सेवाग्राहीको लाइन ९ बजे अघि नै लागिसकेको थियो । तर १० बजिसक्दा पनि अधिकांश फाँटका कर्मचारी समयमा आफ्ना कार्यकक्षमा पुगेनन् । १० बजेर ५–१० मिनेटमा कम्प्युटर फाँटका कर्मचारी मात्र फाँटमा छिरे पनि रजिस्ट्रेसन, तामेलीलगायत अरु फाँटमा साढे १० बजेसम्म पनि ढोकाको ताल्चा नै खोलिएको थिएन ।

एउटा लाइनमा गौरीगंगा नगरपालिकाको चौमालाका मोते कामी अगाडि भेटिए । चौमालाको आफ्नो जमिन धितो राखेर १० लाख लगानीमा बाख्रापालन गर्ने मनसायले जग्गा रोक्का गर्न मालपोत पुगेका उनले भने, ‘यस्तै झन्झट हुने भएकाले त हामीजस्ता युवा विदेश जान्छन् । हाम्रो देशमा ऋण निकालेर काम गर्न पनि यत्तिको झन्झट छ । २ दिनदेखि लाइनमा उभिँदा शरीर लुलो भइसक्यो, हैरान भइयो,’ उनले भने ।

साढे १० भइसकेको थियो । मालपोतका सूचना अधिकारीसमेत रहेका हरिप्रसाद केसी १० बजेर ३२ मिनेट जाँदा बल्ल आफ्नो कार्यकक्षमा छिरे । केहीले १० बजे होइन र कार्यालय समय भनेर आवाज निकाले तर केसीले हेरे मात्र, कुनै प्रतिक्रिया जनाएनन् ।

बिहान आधा पौने घण्टा ढिलो आउने, दिउँसोको खाजा खाने ४५ मिनेटको समयमा १५÷२० मिनेट ढिला गरिहाल्ने र बेलुकी साढे ३ बजेदेखि नै भोलि आउनुस् भन्न थालिहाल्ने गर्नाले ६ घण्टाको कार्यालय समयमा दुई घण्टाभन्दा बढी समय खेर जाने गरेको छ ।

लेखापढीको हालीमुहाली

०७५ चैतमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रेमबहादुर माझीले सेवाग्राहीबाहेक अरुलाई फाँटमा प्रवेश गर्न नदिने दाबी गरेका थिए । अहिले उनको अन्यत्र सरुवा भइसक्यो तर फाँटमा भने लेखापढी व्यवसायी ९लेखनदास०कै हाली मुहाली देखियो । कार्यालयका महत्वपूर्ण फाइल, ढड्डामा लेखनदासको कब्जा थियो ।

०७५ सालकै मंसिरको १८ देखि २० गतेसम्म सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले पनि मालपोतभित्र कर्मचारीबाहेक कसैलाई पनि कागजात चलाउन नदिन निर्देशन दिएकी थिइन् । यतिबेला त्यो निर्देशनको पूरै अवज्ञा गरेको पाइयो ।

मालपोतमा ०६४ सालको संविधानसभा चुनावमा कैलाली क्षेत्र नम्बर ३ बाट विजयी सभासद् कृष्णकुमार चौधरी पत्नीसहित भेटिए । उनले जग्गा बेचेका रहेछन् तर उनको लालपुर्जा एक जना लेखनदासले हराइदिए । ‘हामीले विश्वास गरी काम गर्छन् भनेर १५ सय रुपैयाँ र लालपुर्जा दियौं । अहिले काजजात मात्र भेटिए, लालपुर्जा कता पो हरायो भन्छन्,’ पूर्वसभासद् चौधरीले भने ।

उनले पत्नीको नाममा रहेको जग्गाबाट केही जमिन बेच्न मालपोत आएको बताए । ‘पत्नी सावित्रीदेवी चौधरीको नामको लालपुर्जा नै हराइदिए, सबै फाँटमा खोजेको कतै भेटिएन । यस्तो भीडमा कुनै ढड्डाभित्रै छुट्यो कि, कसैको अर्को फाइलमा पर्‍यो कि,’ आत्तिइरहेका उनले भने, ‘लेखनदासको लापरवाहीको पनि पराकाष्टा छ ।’

कसरी होला नमुना मालपोत

कैलाली मालपोत अनलाइनमा गएको एक वर्ष भयो । यसअघि हाम्रो टीम जाँदा अनलाइनमा कर्मचारी दक्ष भइनसकेकाले पनि ढिलो भएको बताइएको थियो । तर अनलाइनको काम एक वर्षदेखि गरिरहेका कर्मचारीको ढिलासुस्तीमा कुनै सुधार आएको छैन । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यसपाला १५ वटा मालपोत कार्यालयलाई नमूना मालपोत बनाउने घोषणा गरेको छ । त्यसमा कैलाली जिल्ला मालपोत कार्यालय पनि नमूनाको सूचीमा परेको छ ।


‘बडापत्रमा एक दिनमा हुने भनेर तोकिएका काम त ५ दिनसम्ममा पनि हुँदैनन्, नमूना बन्लान् भनेर कसरी पत्याउनु रु ,’ उप–प्राध्यापक हरिकृष्ण कडायतले आशंका व्यक्त गरे, ‘भएका कर्मचारीले दत्तचित्त भएर काम गरि दिए मात्र पनि समस्या आउँदैन जस्तो लाग्यो ।’

कर्मचारी पनि पर्याप्त छैन

यसअघि हामीले मालपोतमा जाँदा कर्मचारी समायोजनको सकस पनि थियो । प्रमुख मालपोत अधिकृत नै बिदामा थिए । फाँटमा तीन अधिकृतको दरबन्दी खाली थियो । खरिदार र सुब्बाका केही दरबन्दी पनि खाली थिए । अहिले प्रमुख मालपोत अधिकृतमा लामो समय गृह प्रशासनमा काम गरेका प्रेमसिंह कुँवर आएका छन् ।

उनी भन्छन्, ‘कर्मचारी अभाव छैन, दरबन्दीअनुसार पर्याप्त कर्मचारी छन् ।’ तर किन यसरी सेवाग्राहीले ढिलासुस्तीको सिकार हुनु परिरहेको छ त रु    उनी भन्छन्, ‘ढिलाइ भएकै छैन, तपाईंले फेला परेका सेवाग्राहीको कुनै कागज नमिलेर वा आफ्नै कारणले ढिलो भएको होला ।’

उनले केही समयपछि सबै सुधार हुने बताए । ‘चार महिना पछि हेर्न आउनुस्, नमूना मालपोत बनाएर देखाउँछु,’ उनले दाबी गरे । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कैलालीलाई पनि नमूना मालपोत बनाउने घोषणा गरिसकेको उनले बताए ।

‘हामीले इस्टमेट पठाएका छौं, बजेट आउने बित्तिकै नमूना मालपोत बनाउने काम थालिन्छ,’ कुँवरले भने । उनले त्यसपछि एक जना पनि लेखनदास मालपोतभित्र नआउने बताए । ‘सेवाग्राही एउटा गेटबाट भित्र प्रवेश गर्छन् र काम सकेर अर्को गेटबाट बाहिर जान्छन्,’ उनले भने, ‘एकै हलमा सबै फाँटका कर्मचारी राखिन्छन् ।’

लेखापढीको काम पनि अनलाइनबाटै हुने भएकाले लेखनदासलाई परिसरमा बसाउनु नपर्ने कुँवरले बताए । ‘अब उनीहरू, आफ्नो कार्यालय खोलेर उतैबाट अनलाइन फाराम भर्छन्, भूसेवा लागू हुँदैछ,’ उनले भने । उनले अहिलेको कार्यालयको भुइँतलामा दुई हल मात्र बनाउन बजेट इस्टमेट पठाइसकेको बताए । ‘इस्टमेट मन्त्रालयमा पठाइसकेका छौं, आउनासाथ काम सुरु हुन्छ ।’

सरकारले गत वर्ष ५ वटा मालपोत कार्यालयलाई नमूना बनाएको थियो भने यस वर्ष कैलालीसहित थप १५ वटा मालपोतलाई नमूना बनाउने योजना छ । अन्नपुर्ण पोस्ट दैनिक बाट साभार समाचार



मङ्गलबार १७, मङि्सर २०७६ ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.