४० होटलमा सागका पाहुना बस्दै, ११ सय एकैपटक भित्रिँदै

Yugnepal     735 पटक पढिएको    

४० होटलमा सागका पाहुना बस्दै, ११ सय एकैपटक भित्रिँदै

पोखरा  १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को स्वागतार्थ पर्यटकीय क्षेत्र लेकसाइड तयारीमा जुटेको छ। सागमा विभिन्न आठवटा खेल पोखरामा हुँदैछन्। ती खेलका खेलाडी र अफिसियल गरी आठ सय २४ जना पाहुना पोखरामा खेल्नका लागि भित्रिँदैछन्।

खेलाडी र अफिसियल बाहेकका अरु सयौं स्वदेशी र विदेशी पाहुना पनि यही बेला भित्रिँदैछन्। कतिपय मुलुकका खेलाडी बिहीबार नै पोखरा आइसकेका छन्। स्थानीय साग व्यवस्थापन समिति अन्तर्गतको प्राविधिक समितिका सचिव बलराम लामाका अनुसार महिला तीन सय ९६, पुरुष दुई सय ६४, अफिसियल एक सय ६४ गरी खेलसँग सम्बन्धित आठ सय २४ जना पोखरा आउनेछन्। ती बाहेक खेलकुदसँग आवद्ध अरु पाहुना, सञ्चारकर्मी, खेलप्रेमी पनि यहीबेला पोखरा भित्रिँदैछन्।

स्थानीय व्यवस्थापकले खेलाडी र अफिसियल गरी ११ सय पाहुनाका लागि आवास व्यवस्थापन गरेको छ। खेलाडी, अफिसियलसहितका ११ सय पाहुनाका लागि अहिले यहाँका ४० वटा होटलमा आवास व्यवस्थापन गरेको व्यवस्थापकले बताएका छन्। एकैपटक ११ सय पाहुना र बाँकी हजारौ खेलप्रेमी यो बेला पोखरामा आउने हुँदा सिजनको बेला उकासिन नसकेको पर्यटन क्षेत्र सागको यो संस्करणबाट पाहुना पाउँदा खुसी छ।

सातवटा देशका खेलाडी र खेल पदाधिकारीसहित समर्थक पोखरा भित्रिने हुँदा पर्यटनमा तत्कालै र दीर्घकालीन फाइदा मिल्ने पर्यटन व्यवसायीको अपेक्षा छ। त्यसले व्यवसायीमा उत्साह पलाएको छ। ‘११ सय जनाका लागि हामीले आवासको व्यवस्थापन गरेका छौं,’ प्रतियोगिताको स्थानीय आयोजकको आवास व्यवस्थापन समितिका संयोजक सुर्य भूजेलले भने, ‘खेलाडी र अफिसियल राख्दा पनि पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ।’

पोखरा आएका ती खेलाडी र अफिसियल कम्तिमा एक साता यहाँ रहनेछन्। कुनै पनि खेल सुरु हुनुभन्दा दुई दिन अगाडि र खेल सकिएको एक दिन पछाडिसम्मको अवधिका लागि खेलाडी र अफिसियलका लागि आवास र खानपिनको व्यवस्थापन हुने उनले बताए। त्यसबाहेक अरु दिनको खर्च सम्बन्धित मुलुकका खेलाडी र पदाधिकारीले नै बेहोर्नेछन्।

उनका अनुसार ११ दिनसम्मका लागि होटलमा कोठ बुकिङ हुनेछ। यहाँका सबैजसो स्तरीय होटलमा ती खेलाडी र अफिसियललाई बस्ने व्यवस्था मिलाइएको छ। ‘कम्तिमा पनि दिनको एउटा कोठाको ६ हजार रुपैयाँ पर्नेछ। किनकी ब्रेकफास्ट, लञ्च, डिनरसहित कोठाको व्यवस्थापन गर्ने हो। त्यसले गर्दा कम्तिमा ६ हजार रुपैयाँ एकजनाका लागि दैनिक खर्च हुनेछ,’ उनले भने, ‘होटलको स्तर हेरेर कतिपय ‘भिभिआइपी’ पाहुना पनि आउने र उनीहरुका लागि महंगो पर्न जानेछ। स्थानीय व्यवस्थापकले सकेसम्म स्तरीय होटलमै पाहुना राख्नेछ र उनीहरुलाई पर्याप्त सुविधा दिलाउने प्रयत्न गरेको उनले बताए।

आवासमा मात्र करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको भुजेलले बताए। त्यसबाहेक व्यक्तिगतसहित अरु खर्च हुँदा थप पाँच करोड रुपैयाँ कारोबार हुने अपेक्षा गरेको भुजेलले बताए। खेल दौरान पाहुना बढ्ने भएकाले कम्तिमा ५० वटा होटल चाहिने अनुमान व्यवस्थापकको रहेको छ। ‘कम्तिमा १५ करोड रुपैयाँको कारोबार पर्यटन क्षेत्रमा हुनेछ,’ उनले भने। होटलका सबै कोठामा खेलाडी मात्र बस्ने नभई अरु पाहुना पनि बस्ने भएकाले पनि धेरैवटा होटलमा व्यवस्थापन गर्न जरुरी परेको उनले बताए। ‘एउटा होटलमा प्रवेश गरिसकेका पाहुनालाई दिनैपिच्छे फरक ठाउँमा जानु नपर्ने गरी व्यवस्थापन मिलाउने हो,’ उनले भने।

आवास र खानपिन बाहेक खेलाडी र अफिसियललाई पोखरा भिœयाउँदा सवारीसाधन पनि पर्याप्त प्रयोग हुनेछन्। त्यसबाहेक रेस्टुरेन्टमा खानपिन र रमाइलो गर्नेदेखि साहसिक गतिविधिमा रम्दा पनि पर्यटनमै लाभ मिल्ने भुजेलले बताए। ‘यही मौका पारेर पोखराको आकासमा प्याराग्लाइडिङ र अल्ट्रालाइटमा उडान गर्नेदेखि मुक्तिनाथ र अन्नपूर्ण आधारशिविर ९एबिसी० पुग्नेसम्मको स्रोतसाधनको सोधीखोजी भइरहेको छ,’ उनले भने, ‘कुनै न कुनै रुपमा पर्यटन क्षेत्रले लाभ पाउने हो। त्यसले गर्दा पर्यटन क्षेत्र खुसी छ। सिजनको बेला सोचेजति पाहुना नपाउँदा खासै खुसी हुन नसके पनि साग गेमले पर्यटन क्षेत्र उकासिने विश्वास छ।’

सागको यो प्रतियोगिता अवधिमा खेलाडी र अफिसियल मात्र नभई पोखरा आसपासका क्षेत्रका आन्तरिक पाहुना पनि पोखरा आउने हुँदा त्यसले पनि पर्यटनमै राहत मिल्ने उनले बताए। ‘खेलप्रेमी आन्तरिक पाहुना पनि यो बेला पोखरा आउँछन्। खेल दौरान कम्तिमा पाँच हजार आन्तरिक पाहुना पोखरा आउने अपेक्षा छ,’ उनले भने, ‘ती पाहुनाबाट पोखराले लाभ पाउनेछ।’

होटलमा बसेका खेलाडी र अफिसियलबाट दीर्घकालीन रुपमा पोखराबारे प्रचारप्रसार गर्ने हुँदा पनि पोखराले झनै लाभ पाउने व्यवसायी बताउँछन्। खेल्न र घुम्न पाएका ती खेलाडी र अफिसियलले आफ्नो मुलुक फर्केपछि पक्कै पनि पोखराको सौन्दर्यताबारे आफन्त र साथीभाइसँग अनुभव साट्दा पनि त्यसले पर्यटनकै प्रचारप्रसार हुने पनि भुजेलले बताए। ‘स्वदेश फर्केका खेलाडीले पोखराको सुन्दरता, यहाँको सेवा सुविधा, रमाउने गतिविधिबारे प्रचार गर्दा भविश्यमा अवश्य पनि फाइदा हुनेछ,’ उनले भने, ‘काठमाडौंमा खेल्न आएका खेलाडी पनि पोखरा आउनसक्ने हुँदा लाभ पर्यटनमै छ।’

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले होटलमा १२ दिनका लागि कोठा बुकिङ भएको जानकारी दिए। ‘बाराहीमा पनि खेलाडी र पदाधिकारी बस्दैछन्,’ उनले भने, ‘सागको यो संस्करणले सबैलाई फाइदा पुग्ने हामीले देखेका छौं।’ होटलमा खेलका पाहुना बस्दा त्यसले यहाँँको पर्यटन व्यवसाय फस्टाउने उनले बताए।

खेलाडी र पदाधिकारीको स्वागतार्थ पर्यटन व्यावसायीले लेकसाइमा ‘मिनी–स्ट्रिट फेस्टिबल’ आयोजना गर्ने तयारी पनि गरेका छन्। त्यस्तै पोखरा आसपासका सबै पर्यटकीय गन्तव्यमा खेलाडी र अफिसियललाई निःशुल्क ‘साइट सिन’को व्यवस्था पनि व्यवसायीले गरेका छन्। त्यसबाहेक पर्यटकीय गन्तव्यमा पुगेका खेलाडी र अफिसियललाई रंगशाला प्रवेश पासकै आधारमा निःशुल्क घुमघाम व्यवस्था पनि गरेको भुजेलले बताए।

‘उनीहरु हाम्रा पाहुना हुन्। पाहुनालाई हामीले आतिथ्यता दिने हो,’ उनले भने, ‘त्यसमा कुनै कमजोरी हुनु हुँदैन र गर्न पनि दिनेछैनौं।’ पर्यटन व्यवसायीलाई पनि पाहुनाका लागि विशेष प्याकेज उपलब्ध गराउन अनुरोध गरिएको पनि उनले बताए। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन थालेको सागले पोखरा र आसपासका क्षेत्रको प्रवद्र्धन हुने उनले बताए।

पोखरा पर्यटन परिषद् ९पिटिसी०का अध्यक्ष चिरञ्जीवी पोखरेल सागले गर्दा पोखरामा पाहुना बढ्ने भएकाले व्यवसायीमा उत्साह जागेको बताउँछन्। ‘सागले पोखरा प्रवद्र्धनको बलियो भूमिका खेल्नेछ,’ उनले भने, ‘पोखरेली व्यवसायीले बेलाबेला अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिरहेको भए पनि साग खेलबाट हुने प्रवद्र्धन झनै प्रभावकारी हुनेछ।’ पोखरा भित्रिने हजारौं पाहुनाबाट सिधा आर्थिक लाभ पर्यटनले पाउने र दीर्घकालीन प्रवद्र्धन पनि उनै पाहुनाबाट हुने उनले बताए।

‘करोडौं रकम खर्च गर्दा पनि नहुने प्रवद्र्धन यतिबेला हुनेछ। किनकी पोखराले अहिले पाहुनाबाट सिधै कमाइ पनि गर्नेछ, भविश्यमा पाहुना तान्ने गरी प्रवद्र्धन पनि गर्नेछ,’ उनले भने, ‘हजारौं पाहुनाले स्वदेश फर्केर पोखराबारे बयान गर्दा भविश्यमा केही संख्यामा पर्यटक बढ्नेमा हामी विश्वस्त छौं।’ पोखरा आउने खेलाडी र पदाधिकारीको स्वागतार्थ चारवटा स्वागतद्वार, सबै मुलुकका झण्डा लेकसाइडमा राख्ने, दुईवटा सेल्फी स्ट्यान्ड बनाउने तयारी भएको पनि अध्यक्ष पोखरेलले बताए। नागरिक बाट साभार



शुक्रबार १३, मङि्सर २०७६ ०४:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.