कञ्चनपुरका किसानलाई गहुँ खेतीका लागि डिएपी मल अभाव

Yugnepal     855 पटक पढिएको    

कञ्चनपुरका किसानलाई गहुँ खेतीका लागि डिएपी मल अभाव

 


भीमदत्तनगर – धान भित्र्याएर गहुँ खेती गर्ने तरखरमा रहेका बेला कञ्चनपुरका किसानलाई मलको समस्या भएको छ ।

अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन ।


कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मलको अभाव भएको जनाएको छ । “युरिया मात्रै एक ट्रक जति आएको छ”, कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने, “धान खेती गर्दा पनि किसानलाई डिएपी मल वितरण गर्न सकिएन ।”

गहुँ छर्ने बेला डिएपी मलको प्रयोग हुने भए पनि मल नहुँदा किसान मारमा परेका छन् । “दुई हजार ५०० मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डिएपी मल यहाँ वार्षिक रुपमा खपत हुन्छ”, उनले भने, “डिएपी मल भारतको कलकत्ताबाट ढुवानी गर्न सकिएको छैन ।” मलखादको अभाव मुलुकभर रहेको शाहले बताए ।

शुक्लाफाँटा नगरपालिकाका किसान जयराम डगौैँराले रासायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको दुखेसो गरे । “धान रोपाइँका बेला पनि मल नहुँदा समस्या भयो”, उनले भने, “अनुदानमा मल दिने निकायका गोदाम रित्तै छन ।” उनले हरेक दिन किसान मल अभावका कारण निराश हुनुपरेको डगौँराको भनाई छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले सुदूरपश्चिम प्रदेशभा डिएपी मल प्रर्याप्त नभएको बताए ।

“डिएपी मलको अभाव नै भन्न त मिल्दैन”, उनले भने, “दुई महिनामा यहाँ तीन हजार मेट्रिक टन डिएपी मल बिक्री भएको छ ।” सुदूरपश्चिम प्रदेशमा भैरहवाबाट मल आयात हुने गरेको भन्दै उनले आयात हुने ठाउँमै मल अभाव भएको बताए । सुदूरपश्चिमका लागि युरिया १५ हजार मेट्रिक टन र डिएपी १० हजार मेट्रिक टन आवश्यक भएको बोगटीले बताए ।

“हामीलाई चाहिने जति मल कहिल्यै आएन”, उनले भने, “यस महिनाको अन्तिमसम्ममा डिएपी मल आउँछ ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रासायनिक मल खपत हुन्छ । कञ्चनपुरमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरीद गर्नुपरेको किसानको दुखेसो छ । रासस

 



मङ्गलबार १९, कार्तिक २०७६ ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.