प्रदेश प्रमुखबारे छलफल गर्दै नेकपा, यी हुन् सम्भावित नाम

Yugnepal     629 पटक पढिएको    

प्रदेश प्रमुखबारे छलफल गर्दै नेकपा, यी हुन् सम्भावित नाम

 

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी  नेकपा  भित्र नयाँ अनुहारको खोजी सुरू भएको छ । नेकपाको आजको सचिवालय बैठकले सातै प्रदेश प्रमुखको नाम तय गर्ने र मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गर्ने तयार भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रदेश १ को प्रमुखमा डा। केआर खम्बु र शर्मिला त्रिपाठीको नाम चर्चामा छ । केपी ओलीका पुराना सहयात्री र पाका वामपन्थी नेताका रूपमा परिचित खम्बु झापा आन्दोलनका उठानकर्ता पनि हुन् ।

सात प्रदेश प्रमुखमध्ये महिला अनुहार पनि चाहिने हुनाले पूर्वमाओवादीबाट त्रिपाठीको नाम चर्चामा छ ।

त्यस्तै पूर्वको रातो झण्डा समूहबाट वामपन्थी आन्दोलनमा हेलिएका गोपाल गुरागाईं र मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल पनि दौडमा रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर २ को प्रमुखमा धर्मनाथ शाह, धर्मनाथ यादव र दिनेशचन्द्र यादवको नाम चर्चामा छ ।

तीन नम्बर प्रदेश प्रमुखमा पूर्वमाओवादीले अमिक शेरचनको नाम अगाडि सारेको बताइएको छ ।

यता पूर्वएमालेबाट अमृत बोहोरा, रघुजी पन्त, पूर्व परराष्ट्रममन्त्री महेन्द्रबहादुर पाण्डे, केशव बडालगायतको नाम चर्चामा छ । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन तीन नम्बर प्रदेश प्रमुख माधवकुमार नेपालको भागमा पर्न सक्छ । त्यसो भएको खण्डमा बोहोरा र पन्तमध्ये एक बन्नेछन् । केपी ओली समूहले पाएको खण्डमा पाण्डे र बडालमध्ये एक हुनेछन् ।

गण्डकी प्रदेश प्रमुखमा सोमनाथ प्यासीको नाम चर्चामा छ ।

पाँच नम्बर प्रदेश प्रमुखमा दाङका महेश चौधरीको नाम अगाडि सारिएको छ ।

कर्णाली प्रदेश प्रमुखमा विनोदकुमार शाह र वीरेन्द्र भण्डारीको नाम चर्चामा ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुखमा पूर्वमाओवादी समूहबाट खेमराज भट्ट मायालुको नाम चर्चामा छ ।

मायालु सुरूमा रामराजाप्रसाद सिंहको पार्टीमा थिए । पछि काङ्ग्रेस प्रवेश गरेर सांसद र मन्त्रीसमेत बनेका थिए । पछि माओवादी प्रवेश गरेका थिए ।

सुदूरपश्चिममा पूर्वएमालेले गोविन्द कलौनीको नाम अगाडि सारेको छ । २०५१ सालमा डडेलधुराबाट तत्कालीन काङ्ग्रेस नेता शेरबहादुर देउवासँग, २०५६ मा वैतडी र २०६४ मा कञ्चनपुरमा चुनाव लडेका कलौनी तीनैपटक पराजित भए ।

२०४९ सालको पाँचौैं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीका आएका हुन् उनी । कलौनी एमाले–माओवादी केन्द्र एकतापूर्व पार्टी निर्वाचन आयोगको उपाध्यक्ष थिए ।
    बाह्रखरी बाट साभार समाचार
   



सोमबार १८, कार्तिक २०७६ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.