विपिन रावलको अर्धशतकमा लिटल फ्लावरको विजयी सुरुवात

Yugnepal     975 पटक पढिएको    

विपिन रावलको अर्धशतकमा लिटल फ्लावरको विजयी सुरुवात


शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विपिन रावल चम्किएपछि लिटल फ्लावरले फराकिलो अन्तरको जित हात पारेको हो ।


२४ वलमा अर्धशतकीय पारी खेलेका रावलले विष्फोटक व्याटिङ गरेपछि त्रिनगर माविलाई लिटल फ्लावरले ९ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले दिएको एक सय रनको लक्ष्य लिटल फ्लावरले ६ दशमलव ४ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।


लिटल फ्लावरको जितमा कप्तान विपिन रावलले २४ वलमा ५९ रन बनाए । उनले आक्रमक पारीमा ६ छक्का र ४ चौका प्रहार गरे । अर्का ओपनर सुवोध ऐरले १० रन बनाउँदा नरेन भट्टले ११ रन जोड्दै आप्नो टीमलाई जिताए । त्रिनगर माविका लागि सन्दीप विष्टले मात्रै एक विकेट लिए ।


यसअघि टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ९९ रन जोडेको थियो । त्रिनगरका लागि सन्दीप विष्टले ३२ रन दिपक जोशीले १८ रन र जनक पाण्डेयले १६ रन बनाएका थिए । लिटल फ्लवारका लागि दिपक रोकायाले ४ महत्वपुर्ण विकेट लिएका थिए । महेश अधिकारी र अनिल थापाले २÷२ विकेट लिएका थिए । उद्घाटन खेलमा ४ विकेट लिएका लिटल फ्लावरका दिपक रोकाया म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आईतबार दुई खेल हुनेछन । पहिलो खेलमा निष्ट भक्तपुर र शारदा विद्या निकेत तथा दोस्रो खेलमा शारदा मावि र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।
यसअघि प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले प्रतियोगिताको उद्घाटन गरेका थिए । व्याटिङ गरेर प्रतियोगिताको उद्घाटनपछि वोल्दै मेयर ओडले धनगढीलाई क्रिकेटको शहरको रुपमा विकास गर्नका लागि अरु पनि क्रिकेटका प्रतियोगिता हुनुपर्नेमा जोड दिए । उनले क्रिकेटमा प्रायोजन गर्ने निजि कम्पनीहरुलाई धनगढीमा प्रोत्सहान दिने भन्दै लाग्ने करमा समेत छुट दिने घोषणा गरे । आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्रिकेटमा योगदान पुराएको भन्दै पुराना क्रिकेट खेलाडी ठक्कर बम र व्यवसायिक क्रिकेटको सुरुवातकर्ता सुवाश शाहीलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताका संयोजक भुपी धामीले स्वागत गरेको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य विक्रम विष्ट, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही, मुख्य प्रायोजक निष्ट कलेजका केशव धामी लगायतले मन्तव्य गरेका हुन् । निष्ट कलेज लैनचौर काठमाण्डौंको मुख्य प्रायोजनमा भईरहेको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग–४ को उद्घाटन समारोह प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले सञ्चालन गरेका हुन ।



आइतबार १७, कार्तिक २०७६ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.