आइजीपी खनाल हटाउने चलखेलमा प्रधानमन्त्री ओली

Yugnepal     627 पटक पढिएको    

आइजीपी खनाल हटाउने चलखेलमा प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालसँग प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट देखिएको हालै प्रहरीका उच्च अधिकारीहरुको सरुवाले देखाएको छ। प्रधानमन्त्री ओलीले आइजीपी खनाललाई थाहा नै नदिई उनकै ब्याजी पुस्कर कार्कीलाई प्रशासन कार्य एवं अपराध अनुसन्धान र मानवस्रोत विभागको प्रमुखमा सरुवा गरेका छन् ।

४ महिनाअघि २०७६ जेठ २४ मा कार्य एवं अपराध विभागबाट कार्कीलाई एकेडेमीमा सरुवा गरिएको थियो। प्रहरी र सशस्त्रमा आइजीपीले आफूसँग असहमति राख्नेलाई एकेडेमीमा सरुवा गर्ने प्रचलन छ । कार्कीलाई पनि खनालले एकेडेमीमा सरुवा गरेका थिए। तर उनको चाहनाअनुसार एकेडेमीमा सरुवा भएका कार्कीलाई प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा बुधबार मुख्यालयका दुईवटा विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले प्रस्ताव लगेर मन्त्रिपरिषदले एआइजी सरुवा गर्ने ब्यवस्था छ। तर यी कुनै प्रक्रिया पूरा नगरी ४ महिना कार्यकाल बाँकी भएका कार्कीलाई दुई प्रहरी मुख्यालयका दुईवटा विभागको जिम्मेवारी दिएपछि धेरै कोणबाट हेर्न थालिएको छ।

आइजीपी सर्वेन्द्र खनालसँग प्रधानमन्त्री ओली पछिल्लो समयमा रुष्ट भएकाले उनलाई अमेरिका भ्रमणमा पनि रोक लगाइएको छ। उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ । उक्त सम्मेलनमा आइजीपी खनाल जाने कार्यक्रम थियो । तर मन्त्रिपरिषद बैठकले उनको भ्रमण नै अस्वीकृत गरिदिएको छ।

यही समयमा प्रहरीका बन्दोबस्तीका सामान खरिदमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै कागजात नियन्त्रणमा लिएको छ । आइजीपीको अमेरिका भ्रमण अस्वीकृत हुनु, उनका प्रतिस्पर्धी कार्कीलाई मुख्यालयमा ल्याएर दुई वटा विभागको प्रमुख बनाउनु र यही समयमा खरिदको भ्रष्टाचार सार्वजनिक भएपछि उनलाई पदमुक्त नै गर्ने खेल त भइरहेको छैन भन्ने चर्चा परिचर्चा पनि सुरु भएको छ ।

केपी ओली प्रधानमन्त्री भएको एक महिनापछि आइजीपी नियुक्ति गर्दा ओली पुस्कर कार्कीलाई बनाउने पक्षमा थिए। तर बरियतामा बरिष्ठ भएकाले खनाललाई नबनाउँदा विगतमा नवराज सिलवालको पक्षमा नेकपाले देखाएको सहानुभूतिको अर्थ नहुने र नैतिक प्रश्न उठ्ने भएपछि खनाललाई बनाइएको थियो। सरकार गठनताका एमाले र माओवादी केन्द्रको एकता भएको थिएन। माओवादी केन्द्र खनालको पक्षमा टसमस नभएपछि ओलीले उनलाई बनाउनु बाध्यता थियो। तर राष्ट्रपति विद्या भण्डारीको जन्म जिल्ला भोजपुर घर कार्कीलाई १ बर्षपछि भने पनि आइजीपी बनाउने आश्वासन दिइएको थियो। १ बर्षमा पनि बनाउन नसकेपछि अहिले आएर खरिदमा अनियमिततादेखि शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउँदै खनाललाई पदमुक्त गर्ने खेल अन्तर्गत नै ४ महिना पनि कार्यकाल बाँकी नभएका कार्कीलाई सरुवा भएको ४ महिनामै पुनः मुख्यालयका दुई वटा विभागको प्रमुख बनाइएको प्रहरी अधिकारीहरुबीचमै चर्चा परिचर्चा हुने गरेको छ। 

आइजीपी खनालसहित एआइजी कार्की, ठूले राई र धिरु बस्नेत लगायतका डीआइजीहरु २०७६ माघ २८ मा ३० बर्षे सेवावधिका कारण अवकाश हुँदैछन् ।    



बिहिबार ०९, असोज २०७६ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.