नेपालगञ्जमा कांग्रेसको विशाल प्रदर्शन, अन्य पार्टीका कार्यकर्ता पनि आए कांग्रेसमा

Yugnepal     729 पटक पढिएको    

नेपालगञ्जमा कांग्रेसको विशाल प्रदर्शन, अन्य पार्टीका कार्यकर्ता पनि आए कांग्रेसमा

नेपालगञ्ज। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कांग्रेसको नेतृत्वमा भएका परिवर्तनलाई संस्थागत गर्नुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेकी छिन्।

पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँके जिल्लामा सञ्चालित कार्यक्रमको नेपालगञ्जमा समापन गर्दै केन्द्रीय सदस्य समेत रहेकी सचेतक भुषालले सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत रहेको टिप्पणी गरिन।

‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ, दुई तिहाईको दम्भले मात्तिएर कम्युनिष्ट सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र आचरण भुल्न थालेको छ,’ खजुराको सीतापुरमा कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमका क्रममा जिल्ला सभापति किरण कोइरालाको हात भाँचिने गरी भएको हमलाको प्रसंग निकाल्दै नेतृ भुषालले भनिन, ‘यो जिल्ला सभापति माथिको मात्रै आक्रमण होइन, यो त सिंगो नेपाली कांग्रेस पार्टी र लोकतन्त्र माथिको हमला हो ।’

सरकार भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले शान्ति, समृद्धी र स्थिरताका लागि नेपाली जनताले दिएको अभिमतको कम्युनिष्ट सरकारले दुरुपयोग गरेको जिकिर गरिन। सरकार अधिनायकबाद र सत्ताको उन्मादले उन्मुक्त भइरहेको स्वयं सरकारका क्रियाकलापले पुष्टि गरिरहेको भन्दै नेतृ भुषालले सरकारका अतिबादी क्रियाकलापलाई नेपाली कांग्रेसले टुलटुल सहेर नबस्ने चेतावनी दिइन।

दुई बर्ष नपुग्दै सरकारको रबैयाबाट नेपाली जनता निराश भएको दाबी गर्दै उनले सरकार अलोकप्रियताको भुंग्रोमा फसिसकेको जिकिर गरिन। 

बाँके जिल्ला सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमलाई केन्द्रीय प्रतिनिधिहरु विद्याप्रसाद खनाल, जानकीलाल बस्नेत, भरतबहादुर न्यौपाने र मालती सोडारी, पूर्व बाँके जिल्ला सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, तरुण दलका पूर्व केन्द्रीय सदस्य सुदीप नरसिंह राणा, नेविसंघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले सम्बोधन गरेका थिए।

कार्यक्रममा अन्य पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका थिए। समापन कार्यक्रम पूर्व पार्टी कार्यालयबाट गाउँ गाउँबाट आएका कार्यकर्ताहरुको ठूलो उपस्थिति सहित निस्केको विशाल र्‍याली विपी चोक, धम्बोझी चोक, सेतु विक चोक, त्रिबेणी मोड हुँदै त्रिभुवन चोक पुगेको थियो। र्‍यालीमा कांग्रेस नेता कार्यकर्ताले सरकार र सत्तारुढ दल नेकपा विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए।



बुधबार ०८, असोज २०७६ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.