सभामुख महराले भने – नेकपा र कांग्रेस आन्तरिक किचलोमा फस्दा जनतामा निराशा

Yugnepal     711 पटक पढिएको    

सभामुख महराले भने – नेकपा र कांग्रेस आन्तरिक किचलोमा फस्दा जनतामा निराशा

कपिलवस्तु । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।

जनताले दिएको म्यान्डेटलाई राजनैतिक दलहरुले आत्मसात नगर्दा परिस्थिती प्रतिकुल बन्न पुगेको उनको भनाइ छ । कपिलवस्तु बहुमुखी क्याम्पसको ३९ औं स्थापना दिवस एवं शालिक अनावरण कार्यक्रममा मंगलबार संबोधन गर्दै सभामुख महराले जनतामा देखिएका निराशालाई उचित संबोधनका लागि उच्च स्तरिय संयन्त्र बनाउनुपर्ने धारणा राखे । 

देशका मुख्य पार्टीहरु नेकपा या काँग्रैस पार्टी आफैमा यो र त्यो भनी लाग्दा देश र जनताका समस्या समाधान गर्नतर्फ ध्यान नपुगेको उनले बताए । 

यस्तै सभामुख महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई सोही अनुरुप हल गर्नुपर्नेमा उनको जोड छ । ‘नीतिगत रुपमा केन्द्रीय सरकार जवाफदेही हुने, योजनागत पक्षमा बढी प्रदेश सरकार केन्द्रित हुने र कार्यक्रम कार्यान्वयनमा स्थानीय तह केन्द्रित हुने भन्ने ‘स्पिरिट’मा संविधान निर्माण भएको हो, कुनै देशको नक्कल गर्नुभन्दा आफ्नै मौलिकता र विशेषतामा सङ्घीयता ल्याएका हौँ, संविधानको मर्म पनि त्यही हो,’ सभामुखले भने ।

उनले विगतको शान्ति सम्झौता गर्दा महत्वपूर्ण स्थानमा रही काम गरेको स्मरण गर्दै अब आफुले सबै दलसंग सहकार्य र परामर्शबाट नयाँ तवरले राजनैतिक समस्या समाधान गर्न लाग्ने बताए । 

कार्यक्रममा बोल्दै संघीय सांसद बृजेशकुमार गुप्ताले संविधानको अभिभावकको भुमिकामा सभामुखले पहल गर्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका गुप्ताले प्रदेशको राजधानी कपिलवस्तुलाई बनाउँदा कसैको बिमति नआउने हुँदा यही नै उचित निर्णय हुनेमा जोड दिए । 

भारतका लागि नेपाली पूर्व राजदुत दिपकुमार उपाध्यायले मानविय विकास सुचाकांकमा कपिलबस्तु पछि परिरहेको अवस्थामा यस्को निराकरणका लागि सबैको साथ एकजुट हुनुपर्ने धारणा राखे । क्याम्पसको आर्थिक पक्षको सबलताको लागि स्रोतको खोजी गर्नुपर्ने र शैक्षिक उन्न्यनका लागि सबै तहको सरकारले भुमिका बढाउनुपर्नेमा पुर्वमन्त्री समेत रहेका उपाध्यायले जोड दिए ।

प्रदेश ५ का सामाजिक विकास समिति सभापति एवं सांसद दिर्घनारायण पाण्डेयले प्रदेश सरकारबाट शिक्षा क्षेत्रमा बिकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । सांसद धर्मबहादुर लाल श्रीवास्तवले संघीयता कार्यान्वयन गर्न ट्राफिक जाम खुलाउनुपर्ने बताए । 

कपिलवस्तुका पर्यटकीय क्षेत्रहरुको विकास र सम्बर्द्धन गर्न सके आर्थिक रुपमा सबल हुने उनको तर्क थियो । कार्यक्रममा क्याम्पसको विकासमा योगदान पुर्याउने स्वर्गीय माननिय भगवान दास गुप्ता र स्वर्गिय क्याम्पस प्रमुख गंगा प्रसाद सिंहको शालिक सभामुख महराले अवनावरण समेत गरे ।

क्याम्पस संचालक समितिका अध्यक्ष रामदास गुप्ताको अध्यक्षता, क्याम्पस प्रमुख डा।विनय पाण्डेयको स्वागत र जिवन मरासिनीको संचालनमा सभा सम्पन्न भएको थियो ।



बुधबार ०१, असोज २०७६ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.