यार्सागुम्बाका व्यापारीले  पाएनन्  चिनियाँ संग उचित मूल्य

अर्थ समाचार

Yugnepal     1171 पटक पढिएको    

यार्सागुम्बाका व्यापारीले  पाएनन्  चिनियाँ संग उचित मूल्य


तस्बिर  फाइल

दार्चुला। दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन। गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन। यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन्।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ। एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्सावापतको रकम मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेका छन्।

यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री भएको छैन। “मैले झण्डै ९० किलोको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०(३५ किलो जति मात्रै बिक्री गर्न सकेको छु”, बमले भने।

दार्चुलाबाट यार्सागुम्बाको गुणस्तर हेरी प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि समस्यामा छौँ। अहिले काठमाडौंमा प्रतिकिलो रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ। खासगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ।

यार्सागुम्बामा प्रतिकिलो रु सातदेखि आठ लाख घाटा छ। एकातिर स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको छ। उनीहरुले पनि यार्साको पैसा माग्दैछन्, बमले भने, तर हामीहरुको यार्सा नै बिक्री भएको छैन।

दार्चुलाबाट यार्सा खरीद गरी काठमाडौँ गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको मूल्य नमिलेको भन्दै निराश भएर फर्किएका छन्। व्यापारी सोभानसिंह ठगुन्ना भन्छन्, “एक महीना काठमाडौँ बस्दा यार्सागुम्बा बिक्री भएन। बैंकको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ। साना–ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन्।”

व्यापारी बम भन्छन्, अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने रु एक करोड घाटा हुँदैछ। अहिले यार्सागुम्बा काठमाडौं पुर्‍याएर राखिएको छ। अधिकांश व्यापारीले भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन्। व्यापारीका अनुसार झण्डै दुई क्विन्टल यार्सागुम्बा जिल्लामै छ। आफूले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलो यार्सागुम्बा निकासी गरिएको छ। अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा बाहिर लगेका छैनन्।

कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ। व्यापारीको मागअनुसार यार्सा निकासीको परिणाम बढाइएको हो।

साउन, भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरीद गरेका थिए। चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यत्तिकै थन्किएको छ। यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको अर्का व्यापारी धनसिंह जागरीले बताए। काठमाडौंमा यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सा सङ्कलन गर्नेहरूको रकमसमेत भुक्तानी गर्न सकेका छैनन।

दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउछन्। उनले भने, “कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लगेका हुन् तर अझै पैसा पाइएको छैन। व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन।”

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो। जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ।

हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ। कार्यालयले यो वर्ष यार्सागुम्बाको निकासीवापत रु एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ।



आइतबार १९, फागुन २०७५ ११:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.