धारा ३७०को खारेजी भारतको आन्तरिक मामिलाः प्रदिप ज्ञवाली

Yugnepal     580 पटक पढिएको    

धारा ३७०को खारेजी भारतको आन्तरिक मामिलाः प्रदिप ज्ञवाली

माल्दिभ्स। माल्दिभ्स भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जम्मु काश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेजी भारतको आन्तरिक मामिला रहेको बताएका छन्। भारत आफ्नो संविधान संसोधन गर्न स्वतन्त्र रहेको ज्ञवालीले बताएका हुन्। 

माल्दिभ्समा भएको हिन्द महासागर सम्मेलनको क्रममा भारतीय समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भने, “ संविधान संसोधन गर्नु भारत सरकारको आफ्नो क्षेत्राधिकार भित्रको विषय हो। यसमा हामीले प्रतिक्रिया जनाउन आवश्यक छैन।”

मन्त्री ज्ञवालीले नेपाल सरकार काश्मिरमा रहेका नेपालीहरुको वारेमा चासो रहेको उल्लेख गर्दै उनीहरु सकुशल रहेकोमा खुसी व्यक्त गरे। उनले भने, “ काश्मिरमा नेपालको मुख्य चासो त्यस क्षेत्रमा काम गर्ने नेपाली तथा नेपाली मुलका नागरिकहरुको सुरक्षाको विषय हो। उनीहरु सुरक्षित रहेकोमा हामी खुसी छौ। नेपाल सरकार भारत सरकारसँग नजिकमा रहेर नेपालीहरुको सुरक्षाको विषयमा समन्वय गरिरहेको छ।” 
ज्ञवालीले भारत र पाकिस्तानबीच बढ्दो तनाव कम हुने विश्वास व्यक्त गरे। 

“ सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा रहेको नेपाल सबै सदस्य राष्ट्रहरु आपसी वार्ताबाटै समस्याको निकास खोज्न आग्रह गर्दछौ। समस्या वढाउनु समाधानको विकल्प हैन। द्वन्द्व खराव विकल्प हो, यसलाई सबै राष्ट्रले त्याग्नु पर्छ।  ”  ज्ञवालीले भने। 

ज्ञवालीले अगाडी थपे “ भारत र पाकिस्तानबीच तनाव घटाई क्षेत्रमै शान्ति र स्थायित्व वहाली गराउने विषयमा केहि आशाका किरणहरु देखिनेमा आशावादी छु। ”

नेपालमा रहँदा भारत र पाकिस्तान दुवैलाई सन्तुलनमा राखेर धारा ३७० खारेजीको विषयमा प्रतिक्रिया दिएका ज्ञवालीले माल्दिभ्समा पुगेर दिएको प्रतिक्रियाले पाकिस्तान सार्क सदस्यहरुमाझ विल्कुल एक्लो परेको कुटनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यो विषयलाई पाकिस्तानले अन्तराष्ट्रिय मञ्चहरुमा छलफलको विषय बनाउन खोजे पनि कहि पनि सफलता मिलेको छैन। 

सार्क सदस्यहरु माल्दिभ्स, श्रीलङका, वंगलादेश र भुटानले यस अघी नै भारतको समर्थनमा आफ्नो प्रतिक्रिया जनाइसकेका छन्। 



बिहिबार १९, भदौ २०७६ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.