शान्ति र सद्‍भावका लागि टीकापुरमा थरुहटको राष्ट्रिय सम्मेलन

शान्ति र सद्‍भाव

युग संवाददाता     746 पटक पढिएको    

शान्ति र सद्‍भावका लागि टीकापुरमा थरुहटको राष्ट्रिय सम्मेलन

 

धनगढी  - थरुहट थारुवान संघर्ष समितिले आगामी भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने भएपछि यसलाई सबैले चासोका साथ हेरेका छन्।

सम्मेलनको मिति नजिकिदै गर्दा आयोजकले तयारीलाई तिब्रता दिएको छ भने स्थानीय प्रशासनले सम्मेलनका लागि आवश्यक शान्ति सुरक्षाका बारेमा स्थानीय स्तरमै छलफल बढाएको छ।

टीकापुरमा थरुहट(थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाले ज्यान गुमाएका थिए। त्यसको भोलिपल्ट भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका घर, पसल, एफएम लगायत करोडौंको संरचना जलाईएको थियो।

‘त्यस यता फैलिएको त्रास र बिग्रीएको सामाजिक सदभाव कायम गर्न टीकापुरमै राष्ट्रिय सम्मेलन आयोजना गरेका हौं’ थारु नेता लक्ष्मण थारुले भने–‘न्याय र अधिकारका लागि सबैभन्दा पहिलो कुरा शान्ति र सदभाव हो, त्यही कायम गर्न यो सम्मेलन गर्दैछौं।’

सम्मेलनको उद्घाटनमा सबै पार्टीका शिर्ष नेता देखि बिभिन्न पक्षधरलाई निम्ता पठाईएको थारुले बताए। थारुले भने–‘सम्मेलनमा सहभागी हुने पानी लिएर आउनुहोस, थारुले पहाडीलाई पानी खुवाउनुहोस, पहाडीले थारुलाई मन सफा राखौं र अघि बढौं।’ सम्मेलनमा आफुहरुले यस अघि देखि नै अघि सारेका मागका साथै विगतको आन्दोलनको समेत समीक्षा हुने थारुले बताए।

आयोजकले सम्मेलनमा कैलाली कंचनपुर लगायत २५ जिल्लाका कम्तिमा ७ देखि ८ हजार जनसहभागिता रहने जनाएको छ। बाहिर जिल्लाबाट आउने सहभागीका लागि टीकापुर क्षेत्र आसपासका २७ गाउँमा बस्ने व्यवस्था मिलाइएको छ। सम्मेलन टीकापुर स्थित सिटी हलमा हुने नेता थारुले बताए।

सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते उद्घाटन कार्यक्रम हुनेछ। भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ। टीकापुर घटना मुद्दामा मुछिएका थरुहट नेता लक्ष्मण थारु सहितका नेता तथा थारु अगुवाहरू जेलमुक्त भएपछि देशदौडाहा छलफललाई तीव्रता दिइएको हो। करीब ३ महिनादेखि तयारी थालेको संघर्ष समितिले तराईका जिल्लासँगै मुलुकको आदिवासी बसोबास क्षेत्रमा समेत व्यापक छलफल चलाएको थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य एंव थरुहट नेतृ इन्दु थारुले बताइन्।

संवेदनशील रहेको टीकापुरको शान्ति सुरक्षाका बारेमा स्थानीय प्रशासनले निरन्तर छलफल जारी राखेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कार्यक्रमलाई मर्यादित बनाउनको लागि बिभिन्न चरणमा आयोजक संग छलफल गरिसकेको जानकारी दिए। शुक्रबार जिल्ला सुरक्षा समितिको पुरै टिम टीकापुर पुगेको छ। सुरक्षा समितिले स्थानीय प्रहरी प्रशासन लगायत आयोजक संग छलफल गरेको छ।

शुक्रबार टीकापुर नगरपालिका सहित आसपासका भजनी नगरपालिका, जोशीपुर, र जानकी गाउँपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष संग छलफल गरिएको प्रजिअ बोहोराले बताए। उनले भने–‘सबै संग छलफल गरेर सम्मेलन मर्यादित बनाउन शान्ती सुरक्षाको ब्यबस्थापन बारे छलफल भएको छ, सबैबाट सकारात्मक प्रतिकृया आएको छ।’ सुरक्षाका लागि प्रशासनले गर्नुपर्ने सबै तयारी पुरा गरेको पनि प्रजिअ बोहोराले बताए।

‘आयोजकले यो आन्दोलन नभएर सम्मेलन भएकोले शान्तीपुर्ण हुने प्रतिबद्धता जनाउनु भएको छ’ प्रजिअ बोहोराले भने–‘स्थानीय स्तरको छलफल र आयोजकको तयारी हेर्दा सम्मेलनले शान्ती र सदभावमा थप सहयोग पुर्‍याउने छ।’

सम्मेलनको अवधीमा सद्भाव रक्तदान कार्यक्रम, खानेपानी र पुष्प गुच्छले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतीकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउने तयारी समेत आयोजकले गरेका छन्। यसका लागि स्थानीय थारु र पहाडी समुदायका अगुवा संग छलफल समेत गरिसकिएको थारु अगुवा माधब थारुले बताए।

 



शनिबार ३२, साउन २०७६ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.