२० लिटर दूध दिन्छ भनेको गाई मर्न थालेपछि किसान हैरान

Yugnepal     904 पटक पढिएको    

२० लिटर दूध दिन्छ भनेको गाई मर्न थालेपछि किसान हैरान

डोटी । दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ ।

केही दिन पहिले सात किसानलाई पूर्ण अनुदानमा उपलब्ध गराईएका ती जर्सी गाई बिरामी भएपछि अहिले उनीहरू तनाबमा छन्  । जर्सी गाईले भने अनुसारको दूध दिनाको साटो बिरामी पर्दै मर्न थालेकाले उनीलाई यस्तो समस्या आइपरेको स्थानीयवासी दिलबहादुर कठायतले बताए । उनले भने, “एउटै गाईले २० लिटरसम्म दूध दिन्छ भनेर  हामीलाई दिए, बुढा गाई फेला पार्‍यो, गाईले दूध दिनाको साटो मर्नथालेपछि हामी त हैरान भयौँ ।”

अर्का स्थानीयवासी धौलीदेवी कठायतले भने,“जर्सी गाई पायौं, दूध बेचेर आम्दानी गरौला भनेको त उल्टै गाई बिरामी परेर औषधि गर्दैमा पैसा सकिने भयो ।” त्यहाँका अधिकांश किसानले नगरपालिकाबाट गाई बुझेकै दिनदेखि बिरामी परेको बताएका छन् । “गाईको पाठेघर कुहिएको बताइएको छ ।

पिसबबाट कीरासहितको पीप खस्न थालेकाले  घरै गन्हाउने भएको छ” उक्त गाईपालन समूहका अध्यक्ष हीरा कठायतले भने, “कुन ठाउँका रोगी गाई हाम्रो फेला पारे रोगी गाई गनाएर गाउँ नै दुर्गन्धित बनाए ।” बिरामी तथा रोग लागेका ती गाईलाई जति औषधि गर्दासमेत निको नहुने गरेको उनीहरू बताउँछन् । नगरपालिकाले बोलपत्र गरेर प्रतिगाई रु ७५ हजारका दरले नगरक्षेत्रका २० किसानलाई हस्तान्तरण गरेको पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताए ।

 उनले भने,“नगरपालिकाले बोलपत्र गरेर कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैँसीपालन फार्मबाट सो गाई आयात गरेको र गाई राम्रै आएको आफूले जानकारी पाएको थिएँु, अहिले के भयो थाहा भएन ।” ती गाईको मूल्य रु १५ लाख पर्ने जनाइएको छ । किसानको स्याहारसुसार र गोठ व्यवस्थापन नमिलेकाले गाई बिरामी परेको र दूध नदिने समस्या भएको हुनसक्ने पशुसेवा इकाइका अधिकृत डिलबहादुर साउदले बताए । उनले भने, “गाईलाई आवश्यकपर्ने चिजमा केही कमी कमजोरी भएकाले गाईमा समस्या देखिएको हुनसक्छ, गाई त राम्रै हुन् ।” ती गाईमध्ये एक बाँच्छो शुक्रबार मरिसकेको  र टोलभरीका सबै गाई बिरामी परेको सम्बद्ध किसानको जिकिर छ ।

उता गाई आपूर्तिकर्ता सिद्धबाबा गाईभँैसी फर्मका सञ्चालक हीरासिंह विष्टले नगरपालिकाको सम्झौता अनुसारकै गाई आफूले आई आपूर्ति गरेको जिकिर गरे। उनले भने, “नगरपालिकाको माग अनुसारका गाई भारतको बरेली र हरियाणाबाट झिकाएर पुर्‍याएको हूँ, अहिले त्यता के भएको छ मलाई थाहा भएन् ।” दूध बेच्नका लागि ल्याइएका गाई नै समस्या बन्न थालेपछि स्थानीय किसान दुखी भएका छन् ।



सोमबार २७, साउन २०७६ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.