सुदूरपश्चिम प्रदेश सरकारको समीक्षा गोष्ठीमा पत्रकारलाई रोक

रोक

युग संवाददाता     931 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारको समीक्षा गोष्ठीमा पत्रकारलाई रोक

सुदूरपश्चिम प्रदेश सरकारको समीक्षा गोष्ठीमा पत्रकारलाई रोक


धनगढी सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक समीक्षा गोष्ठीमा पत्रकारलाई समाचार संकलन गर्नमा रोक लगाइएको छ। सोमबार सुरु भएको वार्षिक समीक्षा गोष्ठीको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ मार्फत जिल्लामा उपलब्ध सबै पत्रकारलाई पठाइदिन भन्दै पत्राचार गरिएको थियो।

पत्राचारकै आधारमा धनगढीमा उपलब्ध पत्रकारहरु समाचार संकलनकै लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे १० बजे पुगेका थिए तर, समाचार संकलनका लागि उनीहरुलाई बोलाइए पनि कार्यक्रममा सहभागी गराइएन् । बैठक बस्ने वित्तिकै पत्रकारलाई बोलाएर बैठकको फोटो सेसन गरियो। त्यस पश्चात भने पत्रकारहरुलाई बैठक स्थलबाट बाहिर पठाइयो।

प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा गोष्ठी बारे रिपोर्टिङ गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका पत्रकार समाचारकै लागि करिब ६ घण्टा बैठक स्थल बाहिर पर्खेर बसे। तर, समीक्षामा विषयगत मन्त्रालयको प्रगति विवरण प्रस्तुति सकिएपछि मुख्यमन्त्रीको सम्बोधन टिप्न जाँदा समेत मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव र अंगरक्षकले भित्र जान दिएनन्।

लगत्तै समीक्षा गोष्ठी सकियो। मन्त्रीसँगै मुख्यमन्त्री पनि बैठक स्थलबाट बाहिर आएको मौका छोपेर लामो समयदेखि बैठक कक्षको बाहिर पर्खेर बसेका पत्रकारले उनको प्रतिक्रिया लिने प्रयास गरे। तर, मन्त्रिपरिषदको बैठक छ भन्दै कुनै मन्त्रीले मुख खोलेनन्। प्रदेश सरकारका प्रबक्ता एबं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले पनि अहिले हतार छ, मन्त्री परिषदको निर्णय पछि गरौंला भन्दै आलटाल गरे।

‘पत्रकार महासंघ मार्फत् समाचार संकलनका लागि खबर गरियो, तर हामीलाई बैठकमा भए÷गरेका कुनै सूचना नै दिइएन’ पत्रकार हिक्मत बमले भने–‘या त पत्र नै पठाउनु थिएन, पत्र पठाएर बोलाइसकेपछि हामीलाई सूचना संकलन गर्नै दिइएन।’ बैठकमा बोलाएर भित्र प्रवेश गर्न नदिइनु र बैठकमा भए÷गरेका कुरा बाहिर नल्याइनु सूचनाको हकको ठाडो उल्लङ्घन भएको उनले बताए।

समाचार संकलनका लागि बिहानै बोलाए पनि बेलुकी चार बजेसम्म कुरेर बसेका पत्रकारलाई सूचना नै नदिई फर्काइनु प्रदेश सरकारको नियत गलत भएको अर्का पत्रकार शेरबहादुर ऐर बताउँछन्। ‘प्रदेश सरकारले वार्षिक प्रगतिबारे जानकारी गराउने भनेर बोलाएर बैठक स्थलमा जानै रोक लगाउनु गतल हो’ उनले भने–‘अझै अन्तिममा सूचना नै नदिई फर्काइँदा प्रदेश सरकार सूचनामैत्री छैन भन्‍ने आभाष भयो।’

साउन १२ गतेका दिन चलानी नम्बर १०० को पत्रमा वार्षिक प्रगति गोष्ठीमा समाचार संकलनका लागि सबै पत्रकारलाई पठाइ दिन भन्दै नेपाल पत्रकार महासंघ कैलाली शाखालाई पत्राचार गरेको थियो।

पत्रकै आधारमा आफूहरुले सबै पत्रकारलाई समाचार संकलनका लागि पठाए पनि बैठक स्थलमा समाचार संकलन गर्नै नदिइनु आपत्तीजनक भएको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले बताए। ‘सूचना संकलन गर्न पाउनु पत्रकारहरुको अधिकार हो’ उनले भने–‘बैठक स्थलमा बोलाएर पनि सहभागी नगराउनु र अन्तिम समयसम्म पर्खाएर सूचना नै नदिइनु गलत हो।’

पत्रकारहरुलाई बोलाएर सूचना नै दिन नखोज्नु प्रदेश सरकारको गैर जिम्मेबारीपन भएको नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य मीन बमले बताए। प्रदेश सरकारको यो व्यवहार सुधार गरेर प्रेसमैत्री बन्न उनले आग्रह गरे।



मङ्गलबार १४, साउन २०७६ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.