बरु जन्मभूमि त्याग गर्छु, नेपाली धर्म र संस्कृति त्याग्नसक्दिन  भुटानी शरणार्थी मनोज राई

Yugnepal     1083 पटक पढिएको    

बरु जन्मभूमि त्याग गर्छु, नेपाली धर्म र संस्कृति त्याग्नसक्दिन  भुटानी शरणार्थी मनोज राई


 

काठमाडौं । नेपाल र भुटानको सम्बन्ध मल्लकालभन्दा पनि पहिले लिच्छविकालदेखि नै चल्दै आएको सम्बन्ध हो । परापूर्वकालदेखि यी दुई देशहरुलाई जोड्ने एउटै र महत्वपूर्ण सम्पर्क सूत्र हो महायान बौद्ध सम्प्रदाय । यो सम्प्रदायको विकासको इतिहास खोज्दै जाँदा तिब्बत र भुटानलाई नेपालसँग जोड्ने श्रेय भृकुटी र नेपाली कलाकार अरनिकोलाई जाने गर्दछ । नेपाली इतिहासमा भृकुटीको आधिकारिक प्रमाण नभेटिएको भएपनि भृकुटी र अरनिकोमार्फत् नै नेपाली कलाकारिता तथा शिल्पकारिताले सीमा पार गर्ने अवसर पायो भन्नको हिच्किचाउनु पर्दैन । यसै सम्बन्धमा जोडिएको भुटानसँगको साईनो १९ औं शताब्दीमा उत्कर्षमा पुगेको पाईन्छ भने २० औं शताब्दीको अन्तिम दशकदेखि त सम्बन्धमा चिसोपन देखिएको छ ।

पहिलेदेखि नै भुटानमा दुई किसिमका नेपालीहरुको बसोबास थियो । एउटा कलाकारिताको माध्यमबाट प्रवेश गरेर सयौं वर्ष पहिलेदेखि बस्दै आएका नेपाली मूलका भुटानीहरु र अर्का सन् १९५० को आसपासको समयदेखि भुटानमा बसोबास गर्न थालेका नेपालीहरु । सन् १९५० सम्म पनि नेपाल र भारतका विभिन्न भागका मानिसहरुले भूटानमा सहजै नागरिकता पाउँथे । यसमा कुनै रोकतोक थिएन । तर, जब भुटानलाई आफ्नै देशमा आफैं अल्पसंख्यक बन्ने भयले सताउन थाल्यो त्यसपछि सुरु भयो त्यहाँको उग्र राष्ट्रवाद र दमनको श्रृङ्खला ।

झण्डै ३ दशकसम्मको जनगणनालाई लिएर सन् १९८० दशकमा भएको एउटा जनगणनाले भुटान सरकारलाई निकै ठूलो दबाब सिर्जना गराईदियो । सो दशकको मध्यममा भएको जनगणनाले भूटानी जनसंख्याको तथ्याङ्कमा नेपाली मूलका मानिसहरु ४० प्रतिशत भन्दा बढी रहेको देखियो । यति मात्रै नभएर भूटानको ड्रुक समुदायको जनसंख्या वृद्धि नेपाली मूलको जनसंख्या वृद्धिभन्दा कम भइरहेको तथ्यांक पनि यस जनगणनामा देखियो । यो सूचना पाएपछि भुटानमा नै भुटानीहरु अल्पमतमा पर्ने भयमा रहेको सरकारले नेपाली समुदायलाई पनि भूटानी संस्कृतिमा समाहित हुन दवाव सृजना गर्न थाल्यो ।

भुटानी शरणार्थीहरु आफ्नै देशबाट लखेटिनुको एउटै कारण हो उनीहरुले नेपाली संस्कृतिलाई त्याग्न नसक्नु । भुटानबाट नेपाली संस्कृतिलाई विस्तारै सिध्याउने नीति अनुसार त्यहाँको सरकारले सबैभन्दा पहिले विद्यालयमा नेपाली भाषा पढाउन रोक लगायो । त्यसपछि दोस्रो चरणमा जनताहरुलाई दौरा, धोती, साडी, कुर्ता आदि लगाउन प्रतिबन्ध लगाएर भूटानी राष्ट्रिय पोशाक लगाउनै पर्ने नियम गराइयो । यो नयाँ नीतिलाई भारतमा स्थानान्तरीत नेपालीहरु र भूटानमा पहिलेदेखि नै रहिआएका नेपालीहरुले विरोध गर्न थाले । यस विरोधको नेतृत्त्व भूटानको नरेशका सल्लाहकार टेकनाथ रिजालले गरेका थिए । नेपाली भाषा, हिन्दू धर्म, वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई समेत भूटानी मूलप्रवाहमा समावेश गर्न माग गर्दै शुरु भएको विरोधपछि प्रजातन्त्रको स्थापनाको मागसम्म पुगेको थियो । प्रजातन्त्रको माग हुन थालेपछि भुटानले नेपालबाट गएर दक्षिण भुटानमा बसोबास गर्नेहरुको नागरिकता फर्जी घोषणा गर्दै उनीहरुलाई गैरनागरिक घोषणा गरिदियो । साथै उनीहरुलाई देश निकाला समेत गरिदियो । दक्षिणी भूटानमा नेपाली मूलका मानिसहरुमाथि भएको दमन तथा कारवाहीको डरले पनि केही मानिसहरु भुटान छोडेर भाग्न बाध्य पारिए । उनीहरुलाई भुटान सरकारले भारतको बाटो हुदै नेपाल धपाएसगै शरणार्थी बन्न पुगे ।

मनोज कुमार राई तिनै नेपालभाषी भुटानी हुन् । जो नेपाली संस्कृतिलाई त्यागेर भुटानी संस्कृति अगाल्नु भन्दा आफ्नो जन्मभूमिलाई नै त्यागेर १७ बर्षको कलिलो उमेरमा शरणार्थी बने । आफ्नो संस्कृति रक्षाको लागि उनी लगायतका हजारौं भुटानीहरुले आफ्नो मातृभूमि विर्सिए । उनीहरुले नै ३ दशकसम्म शरणार्थीको रुपमा दोस्रो दर्जाको जीवन विताउन बाध्य भए । तिनै राई आज अमेरिकामा पुगेर समेत नेपाली संस्कृतिको जगेर्नाको लागि लडिरहेका छन् । आफ्नो व्यवसायलाई समेत कम महत्व दिएर उनी अध्यात्म र सांस्कृतिक विस्तारको लागि दिलो ज्यान दिएर लागिरहेका छन् ।

नेपालमा ब्राह्मणले मात्रै शास्त्रको अध्ययन गर्न सक्छ भन्ने सोचाईलाई त यस अघि नै स्वामी प्रपन्नाचार्यले ९ उनी पनि किराती परिवारमा जन्मिएका थिए ० खण्डन गराईसकेका छन् । तर, मनोज कुमार राई पनि यस्ता व्यक्ति हुन् जसले अमेरिकामा नेपाली संस्कृतिलाई विकृतिबाट जोगाउन र विस्तार गर्नको लागि जात भन्दा माथि उठेर काम गरिरहेका छन् । उनी भन्छन् ब्राह्मणले मात्रै वेद बढ्न सक्छन् भन्ने कुरा केही सय वर्ष पहिलेदेखि मात्रै चल्दै आएको व्यवस्था हो । वैदिक काल र लिच्छविकालीन नेपालमा समेत कर्मको आधारमा जात निर्धारण हुन्थ्यो । वैदिक कालमा त महिलाहरुले समेत यज्ञपवित कार्य गरेर वेद पढ्ने गरेका थिए । हाम्रा गार्गी अनुसुया जस्ता विदुषीहरुले कसरी पढे त वेद रु

गायन पेशामा समेत कुशलता राख्ने राईका अहिलेसम्म ५ वटा राष्ट्रवादी एल्वमहरुको संग्रह नै प्रकाशित भईसकेको छ । मानव धर्मका अनुयायी अमेरिका च्याप्टरका सेवादलका संयोजक समेत हुन् ।  उनी यतिबेला अमेरिकामा श्रीमद्भागवत महापुराण गराउने तयारीमा जुटिरहेका छन् । त्यसैको तयारीका लागि नेपाल आएका राईले पाश्चात्य संस्कृति पनि आफ्नो ठाउँमा राम्रो भएपनि आफ्नो मातृभूमिले सिकाएको धर्म र पूर्वीय संस्कृति उत्कृष्ट रहेकोले अमेरिकामा समेत बिस्तारमा लागेको बताए । उनी आफू पनि पूर्विय संस्कृतिको राम्रो ज्ञान राख्छन् । गीता, बेद लगायतका ग्रन्थहरुको राम्रो अध्ययन गरेका कारण कतिपय ठाउँमा प्रवचन समेत दिन्छन् ।

राई एउटा यस्ता पात्र पनि हुन् जसले आफू जन्मिएको र आफूले बालापन विताएको ठाउँमा अब चाहेर पनि जान सक्दैनन् । भुटान सरकारले अनुमति नै दिदैन् । भुटान सरकारले सन् १९९० मा देश निकाला गरेका नेपाली मूलका भुटानीहरुलाई पुन देश प्रवेश गर्न अनुमति दिएको छैन् सोही सूचीका राई पनि एक हुन् । भुटान सरकारले नागरिकता खारेज गरेर लखेटेपछि उनीअरुसँग दुई वटा विकल्प थियो । एउटा नेपालमा शरणार्थीको रुपमा आउने त अर्का भारतमा नै शरणार्थीको रुपमा कतै बस्ने । तर, उनीहरु सबैले नेपाललाई नै रोजाईको देश बनाए । कारण थियो आफ्ना पितापूर्खाहरुको थलो । उनीहरुले जन्मभूमिको रुपमा भुटानलाई माया गरेको भएपनि आफ्नो पूर्खाहरुको भूमिको रुपमा नेपालसँगको आत्मीयता पनि कम भने नरहेको राई बताउँछन् । त्यही आत्मियताले पनि उनीहरुलाई नेपालसम्मको यात्रामा डोहोर्यायो । मध्यकालीन समयसम्म नेपाल नै धर्तिपुत्र रहेका उनका पुस्ताहरुलाई भुटानले नै ससम्मान बोलाएको थियो । उनका चार पुस्ताले भुटानमा नै बिताएका थिए ।  त्यहाँ काम गर्दा गर्दै कला कौशलका प्रखर नेपालीहरुलाई भुटान सरकारले त्यतै बसोबास गर्नको लागि व्यवस्था गरिदिएको थियो ।  

त्यतिबेला झापाको माईखोला, बेलडाँगी हुँदै खुदुनाबारी आएर बसेका राईले १८ वर्षसम्म शरणार्थीको रुपमा विताए । यहाँ रहँदा उनी भुटानबाट आएका विस्थापित नेपालीहरुको हरेक दुखमा सहयोग गर्ने सहयोगीको रुपमा काम गर्ने गरेका थिए । स्वभावैले अरुको दुख देख्न नसक्ने भएकोले पनि उनलाई धेरैले मनपराउने गर्दथे । झापामा रहँदा उनले ८ वर्षसम्म त शिक्षण पेशामा समेत संलग्न भएर विताए । त्यसपछि भने शिविरमा दुख र समस्यामा परेकाहरुलाई सहयोग गर्दैमा उनको १८ वर्षे नेपाल यात्रा सकियो । शिविरमा रहँदा उनी क्याम्पको एड्मीनिष्ट्रेटिभ अफिसर हुँदै क्याम्पको सेक्रेटरी समेत भए । क्याम्पको सेक्रेटरी भनेको क्याम्पको सबैभन्दा ठूलो पद हो ।

शिविरको सेवा गर्न सुरु गरेपछि उनको काम नै शिविरमा सुव्यवस्था गर्ने, त्यहाँ कसैलाई समस्या परेको खण्डमा उनीहरुलाई सहयोग गर्ने र क्याम्पको व्यवस्थापन सम्बन्धी सबै काम गर्ने थियो । यसरी दिन विताउँदै गर्दा कोही डेढ दशक र कोही ३ दशक भईसकेको थियो नेपालमा बस्न सुरु गरेको पनि । त्यसैक्रममा सन् २००६ मा शरणार्थीहरुको पुनर्वासको कुरा चल्न थाल्यो । त्यतिबेलासम्म शरणार्थी शिविरमा खानेकुराको पनि अभाव हुन सुरु हुँदै थियो । दातृ निकायले पनि सधैं खानाको बन्दाबस्ती मात्रै गरिरहने भन्दापनि पुनर्वासलाई नै बढी प्राथमिकता दिँदै थिए ।

यता नेपालमा भुटानी शरणार्थीहरुको पुनर्वासको कुरा चलिरहेको बेलामा अमेरिकामा कम्बोडिया, लाहोस जस्ता देशका शरणार्थीहरुलाई पुनर्वास गरेको कुरा थाहा पाएपछि सरकारको समेत पहलमा उनीहरुले अमेरिकी दूतावाससँग यस विषयमा छलफल गरे । उनीहरुलाई यकीन थियो कि अब भुटान जाने सम्भावना छैन भन्ने । पुर्खा देश र नेपालीको माया बढे पनि लामो समय नेपालमा बसिरहदाँ के गर्ने कसो गर्ने भन्ने छटपट्टी बढिरहेको थियो । एक पटक भेरिफिकेसन गरेर भुटान भित्र्याउने भनेकोमा पनि ९० प्रतिशतलाई भेरिफिकेसन मार्फत् गैरनागरिक घोषणा गरेपछि उनीहरुलाई भुटान जाने सम्भावना नै थिएन । जसका कारण उनीहरुले नेपालमा पनि यति धेरै मानिसहरु बस्दा यहाँका नेपालीले पाउने नोकरी र अन्य सुविधामा समेत समस्या भएको सम्झिएर अमेरिका जाने निधो गरे ।

अमेरिका पछिको यात्रा
रिसेटलमेन्ट योजना अनुसार अधिकांश भुटानी शरणार्थीहरु अमेरिका गए । राई आफू २००८ मा अमेरिका गएको बताउँछन् । उनी सम्झन्छन् त्यतिबेला अमेरिकामा आर्थिक मन्दी चलेको थियो । मन्दीका कारण काम पाउन पनि गाह्रो थियो । पालिनको लागि त कहिले झार टिप्ने काम गरियो, कहिले होटलमा पनि काम काम गरियो । त्यहाँको नियम अनुसार शरणार्थीहरुलाई रिसेटलमेन्ट एजेन्सीले ६ महिनासम्म क्षमता हेरेर सहयोग गर्दा रहेछन् । जस अन्तर्गत् खाद्यान्नहरुमा ३ महिनासम्म केही सहुलियत दिने गर्दछन् । त्यसपछि आफैं केही न केही काममा लाग्नु पर्छ र कमाई अनुसारको कर पनि अनिवार्य तिर्नै पर्छ ।

लभ एण्ड सपोर्ट फाउण्डेसन र यसको सहयोग
यसरी लामो समयसम्म दातृ निकायको सहयोगमा पालिएका राई लगायत उनका साथीहरु अहिले अरुलाई सहयोग गर्ने तहमा पुगेका छन् । उनीहरुले अगष्ट १७ २०१८ मा एउटा लभ एण्ड सपोर्ट फाउण्डेसन नामको संस्था खोलेका छन् । यो संस्थालाई युरोपका बिभिन्न देशहरुमा शाखा बिस्तारमा समेत लागिरहेका छन् । यो संस्थामार्फत् उनीहरुले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको मातहत रहनेगरी सञ्चालित क्यर ईन्टरनेशनल मार्फत् उनीहरुले विभिन्न विपन्न क्षेत्रका मानिसहरुलाई सहयोग गर्ने गरेका छन् । पिपन्न बिद्यार्थीलाई छात्रबृद्धी सहयोग होस भनेर घाँसी नेपाललाई बार्षिक ५ लाख दिने गरी सम्झौता समेत गरिसकेका छन् । यस संस्थाले विभिन्न क्षेत्रका नेपालका संगीतकर्मीहरु, गायकहरु, लेखक, पत्रकार, आध्यात्मिक लगायतलाई अमेरिकामा नै बोलाएर सम्मान समेत गरेको छ ।

संगठनका संस्थापक समेत रहेका राई यो संगठन विशेषगरी नेपालमा नै केन्द्रीत हुनुको कारण भिन्दै रहेको बताउँछन् । उनी आफूहरुलाई तीन दशकसम्म नेपालले दुख सुख गरेर पालेकोले आफूहरुले पनि नेपाललाई त्यो गुन तिर्नैपर्ने सम्झिएर सकेको सहयोग नेपालमा नै केन्द्रीत गरेको उनले बताए । उनी अमेरिकामा बिभिन्न ब्यापार ब्यवसायमा समेत लागिरहेका छन् । त्यसको केही अंश समाजसेवामा खर्च गर्ने उनको योजना रहेको छ ।
 भुटान त जन्मभूमि हो, उसले ससम्मान स्वागत गरेको खण्डमा भुटान खुशीका साथ जाने बताउँछन् । उनी त्रेता युगमा भगवान श्रीरामले भनेजस्तै जननी र जन्मभूमि सधैं स्वर्ग भन्दा प्यारो हुन्छ भन्ने उक्ति स्मरण गर्दै आफ्नो लागि पनि जन्मभूमि जान पाएको खण्डमा त यो स्वर्ग भन्दा पनि प्यारो हुने बताएका छन् । तर पुर्खाको पूर्वीय नेपाली संस्कृति भने कुनै हालतमा त्याग नगर्ने बरु यसको प्रचार प्रसारको लागि लागिपर्ने बताए ।



आइतबार १२, साउन २०७६ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.