जडीबुटीको संरक्षण र आर्थिक संमृद्धीका लागि व्यावसायिक रुपमा सतुवाखेतीको लोकप्रियता बढ्दै

Yugnepal     932 पटक पढिएको    

जडीबुटीको संरक्षण र आर्थिक संमृद्धीका लागि व्यावसायिक रुपमा सतुवाखेतीको लोकप्रियता बढ्दै

 

जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ ।

नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो ।

हिमालयन सतुवा एण्ड फार्मका रुपमा संस्थागत तवरले सात जना स्थानीयवासीको सक्रियतामा सतुवा खेती थालिएको पर्यटन व्यवसायी एवम् संस्थाका अध्यक्ष नजरमान गुरुङले जानकारी दिनुभयो । सतुवा समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने जडीबुटी हो । विशेषगरी एक हजार ६०० मिटरको उचाइ सतुवाका लागि अत्यन्त उपयुक्त मानिन्छ ।

गुरुङका अनुसार केही वर्षअघि सम्म छोम्रोङ आसपासका जङ्गलमा पर्याप्त मात्रामा सतुवा पाइन्थ्यो । पछिल्ला वर्षमा भने बढ्दो चोरी सिकारीको क्रमसँगै यो कताकति मात्रै पाइन थालेको छ । “छोम्रोङ आसपासका जङ्गलमा अहिले अत्यन्त कम मात्रामा सतुवा पाइन्छ”, उहाँले भन्नुभयो, “यसको व्यावसायिक खेतीका लागि हामीले ताप्लेजुङबाट पाँच हजार सतुवाको बीउ ल्याएर लगाएका हौँ ।”

पहिलो चरणमा सात जनाले जनही एक÷एक लाख रुपैयाँ उठाएर काम शुरु गरेको जानकारी दिँदै उहाँले १० रोपनी क्षेत्रफलमा सतुवा खेती गर्न लागिएको बताउनुभयो । बिरुवा लगाउनाका साथै त्यसलाई अन्य जङ्गली जनावरले नखाऊन् भन्ने सोचका साथ वरपर तारबार लगाउनाका साथै जालीले घेरिएको उहाँले जानकारी दिनुभयो ।

सतुवाको बीउका लागि जिल्ला वन कार्यालय कास्कीले रु दुई लाख ९७ हजार उपलब्ध गराएको अध्यक्ष गुरुङले बताउनुभयो । “सीमित साधन स्रोत एवम् कम लगानीमा राम्रो उत्पादन गर्न सकिने भएकाले अन्य सर्वसाधारणलाई यसतर्फ आकर्षित गर्नुसमेत हाम्रो उद्देश्य हो”, उहाँले थप्नुभयोे, “आसपासका जङ्गलमा पनि सतुवाको चोरी पैठारीलगायतका कारण कम हुँदै जान थालेको अवस्थालाई दृष्टिगत गरी यसको संरक्षणमा सचेतना अभिवृद्धि गर्न पनि व्यावसायिक खेती थालेका हौँ ।”

सरकारले सतुवालाई संरक्षित जडीबुटीको सूचीमा राखेको छ । सतुवा बहुउपयोगी औषधीय वनस्पति भएको र यसले विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको उच्च माग रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका जडीबुटीको भण्डार भएको बताउँदै उहाँले यसको संरक्षणका साथै व्यावसायिक उत्पादन गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । “स्थानीयवासीमा व्यावसायिक खेतीतर्फ देखिएको आकर्षणले हामीलाई पनि उत्साहित बनाएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अन्नपूर्ण जडीबुटीको भण्डार हो, यहाँ सतुवाजस्ता अनेकौँ बहुमूल्य जडीबुटी छन्, यसको संरक्षण र उपयोगबाट स्थानीयवासीको आयआर्जन बढाउने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ । यसकोे मूल्य प्रतिकिलो रु आठ हजार पर्छ । सतुवाका भाले र पोथी दुई जात हुन्छन् । भालेको भने प्रतिकिलो १७÷१८ हजार रुपैयाँ बजार मूल्य रहेको फार्मका अध्यक्ष अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सतुवाको जरा अदुवाको जस्तै हुन्छ । यसको सेवन विशेषगरी श्वासप्रश्वासजन्य समस्यामा उपयोगी हुने कास्की जिल्ला आयुर्वेदिक सङ्घका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार घाँटी तथा पेटका समस्याका साथै यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बढाउँछ ।



शुक्रबार १०, साउन २०७६ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.