सर्वोच्चले आदेश दिएपनि विषादी परीक्षण नगरी भित्रिँदै तरकारी तथा फलफूल

Yugnepal     789 पटक पढिएको    

सर्वोच्चले आदेश दिएपनि विषादी परीक्षण नगरी भित्रिँदै तरकारी तथा फलफूल

 

काठमाडौं । सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्‍यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” 

यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने बताएपछि नेपालगञ्जमा एक साता अघिदेखि जाँच पुनः शुरु गरियो तर जाँच गर्ने कर्मचारीको अभाव देखाउँदै पुनः जाँच रोकिएको छ । पूर्वतयारी नै नगरेर शुरु गरेको जाँच पटकपटक रोक्नुपरेको विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जले जनाएको छ । 

कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सकिल अहमदले कर्मचारी अभावका कारण समस्या भएको बताए । उनले घरायसी कामले काठमाडौँ गएपछि विषादी जाँचको काममा झनै बाधा पुगेको छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार नियमित जाँच गर्न बाली संरक्षण अधिकृत अहमदलाई जिम्मेवारी दिइए पनि एक्लैले काम गर्न नसक्ने भएपछि जाँच निरन्तर हुन सकेको छैन । असार २५ गते सरकारको नाममा विषादी परीक्षण कार्य नरोक्न सर्वोच्चले आदेश दिएको थियो ।

कर्मचारी नहुँदा विषादी जाँच रोकिएपछि भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल निर्वाधरुपमा विना जाँच भित्रिरहेको छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जका सञ्चालक समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरका अनुसार विषादी जाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकारसँग थप कर्मचारीसमेत माग गरिएको छ ।

“हामीले विषादी जाँचका लागि बाली संरक्षण अधिकृत एक जना, दुई जना प्राविधिक र कार्यालय सहयोगी एक जना हुनुपर्ने माग गरेका छौँ”, उपप्रमुख मगरले भने । उपभोक्ता सबैले आफूले तरकारी उत्पादन गरेर खाने बानी बसाल्न अनुरोध गरेको बताए। केही दिनयता भारतीय तरकारीको नमूना भन्सार कार्यालयले नपठाएकाले पनि जाँच हुन नसकेको बाली संरक्षण अधिकृत अहमदले बताए ।

भारतबाट आउने तरकारी मात्र नभएर नेपालगञ्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफूललाई मण्डीमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर जाँच गर्ने योजना रहेको बाली संरक्षण अधिकृत अहमदले बताए। अहिले आउने हरियो तरकारीमा अन्यभन्दा बढी विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइले जनाएको छ । 

बाली संरक्षण प्रयोगशाला खजुराका दीपक घिमिरेले नेपालगञ्जको सरकारी जमीनमा तरकारी लगाउने हो भने नेपालगञ्जलाई पर्याप्त पुग्ने बताउँदै सबैलाई आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गरे। नेपालगञ्जको रानीतलाउ तरकारीउपज बजारसँगै कोहलपुर र भन्सार क्षेत्रमा समेत प्रयोगशाला राख्नुपर्नेमा उनले जोड दिए। 

उनले केही दिनयता भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादी मिसाइएको हुनसक्ने भएकाले सजग रहन उपभोक्तालाई आग्रह पनि गरिएको छ । 



मङ्गलबार ३१, असार २०७६ ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.