विद्यालय खुल्दै सुदूरपश्चिम प्रदेशमा

Yugnepal     1359 पटक पढिएको    

विद्यालय खुल्दै सुदूरपश्चिम प्रदेशमा

धनगढी । कोरोना संक्रमण महामारीका कारण छ महिनादेखि पठनपाठन रोकिएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पठनपाठन सुरु हुन थालेका छन् ।

बाजुराका अधिकांश विद्यालयमा भौतिक दूरी कायम राखेर पठनपाठन सुरु हुन थालेका छन् । कोभिड १९ को महामारीका कारण चैत महिनादेखि विद्यालयमा पठनपाठन कार्य अवरुद्ध हुँदै आएको छ ।
बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर ५ स्थित भानोदय माविले भौतिक दूरी कायम गर्दै असोज १ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको छ ।
संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ को निर्णय अनुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ५ को क ४ अनुसार पढाइ सुरु गरिएको भानोदय माविका प्रधानाध्यापक मनवीर खातीले बताए ।
सो विद्यालयले टोल बर्गिकरण गरेर एक दिन एउटा टोल र अर्को दिन अर्को टोलका विद्यार्थी बोलाएर पढाउन थालेको छ ।

अपि हिमालमा सोमबारदेखि खुल्ने
दार्चुलाको अपिहिमाल गाउँपालिकाले भोली सोमबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।लकडाउनका कारण गत चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई सञ्चालन गर्ने निर्णय गरेर आवश्यक तयारी गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्रसिह साउँदले बताए ।
अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग र सरसफाई गर्ने तथा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरिएको बताए ।
अध्यक्ष मन्यालका अनुसार, गाउँपालिकाले प्रत्येक बिद्यार्थीहरुका लागि मास्क, सेनिटाइजर र साबुन खरिद गरेको छ ।
अपिहिमाल गाउँपालिकमा एक हजार नौ सय ८१ जना विद्यार्थी अध्ययनरत छन् ।
गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने भएपछि छिमेकी गाउँपालिकाका सीमा नाकाहरुमा कडाइ गरिने भएको छ । मार्मा गाउँपालिकाको रेला लगायत नाकामा कडाई गर्ने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, डडेल्धुराका स्थानीय तहहरुले विद्यालय संचालन गर्न प्रध्यानाध्यापक बैठक तथा अभिभावक भेला सुरु गरेका छन् ।
अजयमेरु गाउँपालिकाका प्रध्यानाध्यापकहरुको बैठकले असोज १० गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरेको जनाइएको छ । संघीय शिक्षा तथा प्रविधि मन्त्रालयले पारित गरेको विधार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार असोज ७ गतेभित्र अभिभावक भेला बोलाइएको अजयमेरु गाउपालिका अध्यक्ष उमेश भट्टले बताए ।
भागेश्वर गाउँपालिकाले वैकल्पिक प्रणाली अन्तर्गत टोलटोलमा शिक्षक पठाएर विद्यार्थीहरुलाई पठनपठान गराईरहेको भए पनि सवै टोलमा शिक्षक पुग्न सम्भव नभएकोले असोज ६ गते प्रधानाध्यापकहरुको बैठक बोलाइएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताए ।
त्यस्तै, आलिताल गाउपालिकाले आज आइतबार प्रधानाध्यापकहरुको बैठक र ६ गते कार्यपालिका बैठकबाट विद्यालय खोल्ने निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताए ।
अमरगढी नगरपालिकामा नियमित विद्यालय खोल्न सकिने अवस्था नभएकोले आज आइतबार प्रधानाध्यापकहरुको बैठक बोलाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले बताए ।
त्यस्तै, गन्याधुरा गाउँपालिकाले पनि आज आइतबार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको भेला र ५ गते कार्यपालिकाको बैठक बोलाइएको गाउँपालिका अध्यक्ष नवल मल्लले बताए ।
त्यस्तै, नवदुर्गा गाउँपालिकाले क्वारेन्टाइन बनाइएका विद्यालयहरुको सरसफाइ गरेर र भर्ना अभियान संचालान गरिरहेको जनाएको छ ।

विद्यालयहरुले विद्यार्थी भर्ना लिँदै
उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत महादेव जोशीले विद्यालय भर्नाका लागि छलफल गर्न आयोजित भेलाबाट असोज १५ गतेभित्रै भर्ना लिइसक्ने निर्णय गरिएको बताए ।
उनले विद्यार्थी भर्ना गरी अभिलेखिकरण र वर्गीकरण गर्ने लगायतका निर्णय भएको बताए । उनले अनलाइन, टेलिभिजन, एफएम रेडियो माध्यम वा भौतिक दूरी र स्वास्थ्य सम्वन्धी सतर्कता अपनाएर विद्यालयमा उपस्थित गराएर प्रत्यक्ष कक्षा सञ्चालनमा सहभागी गराउने विषयमा विद्यार्थी वर्गीकरण गरिने बताए । उनले भर्ना लिइसकेपछि असोज १६ देखि पठनपाठन सञ्चालन गर्ने गरी भर्ना गरिने बताए ।
शिक्षा अधिकृत जोशीले विद्यालयले विद्यार्थी भर्ना लिँदा नीजि तथा संस्थागत विद्यालयहरुले सैक्षिक सत्र २०७६ बराबरकै शुल्क मात्रै लिन पाउने निर्णय भएको बताए । उनले अर्को व्यवस्था नभएमा आगामी चैत्र मसान्तसम्म नै शैक्षिक सत्र कायम हुने गरी पठनपाठन सञ्चालन गर्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाले विद्यालयले विद्यार्थी भर्नाका लागि सरकारले ल्याएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि छलफल गर्दै विभिन्न निर्णय गरेको थियो ।
सम्बन्धित क्षेत्रका सरोकारवालाहरुसंगको छलफलपछि सामुदायिक तथा संस्थागत विद्यालय, विद्यार्थी र अभिभावकमा रहेको अन्यौल हटाउने अपेक्षा छ ।



आइतबार ०४, असोज २०७७ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.