कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीसँग आक्रोशित

Yugnepal     1416 पटक पढिएको    

कांग्रेस  सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीसँग आक्रोशित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोशित बनेका छन् । आफूलाई प्रधानमन्त्री ओलीले ठगेको देउवाको गुनासो छ ।

आगामी महाधिवेशनका लागि छलफल गर्न सानेपामा जारी नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् । देउवाले बैठकमा दिएको जानकारीअनुसार असार १७ गते प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे छलफल गर्नुपर्ने छ भन्दै देउवालाई बालुवाटार बोलाएका थिए ।


प्रतिपक्षी दलको नेता भएका कारण देउवा संवैधानिक परिषदका सदस्य हुन् भने प्रधानमन्त्री ओली परिषदका अध्यक्ष हुन् । साँझमा भएको छलफलमा प्रधानमन्त्री ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पास गर्ने प्रस्ताव देउवासित राखे ।

देउवाका अनुसार बालुवाटारको सो भेटमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीलाई हाउसमा पेश गर्न सभामुख अग्नि सापकोटाले मान्दै मानेनन्, अब कार्यव्यवस्था समितिको बैठक राखौं अनि कांग्रेस र हामी मिलेर एमसीसीलाई बैठकको एजेण्डा बनाऔं । भोटिङमा लगेर बहुमतबाट पारित गरौं ।’

सानेपामा आयोजित पार्टीको बैठकमा सभापति देउवाले बालुवाटारको छलफलबारे रिपोर्टिङ गर्दै भने, ‘मलाई एमसीसी पास गरौं भनेर पठाएको भोलिपल्टै कसैलाई थाहा नदिई संसद अधिवेशन पो अन्त्य गरे । ओलीले मलाई ठगे ।’

सरकारले सभामुखसँग समेत सल्लाह नगरी असार १८ गते संसद बैठक स्थगनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

संसद अधिवेशन अन्त्य भएका दिन विहीबार दिउँसो २ः५५ बजे प्रधानमन्त्रीका मिडिया विज्ञ रामशरण बजगाईले यस्तो ट्विट गरेका थिए, ‘संसद् अधिवेशन अन्त्यको सिफारिस गर्नुअघि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले नेकपाका अध्यक्ष माननीय पुष्पकमल दाहाल र प्रतिपक्षी नेता माननीय शेरबहादुर देउवाज्यूसँग यस विषयमा परामर्श गर्नुभएको थियो ।’

तर, बजगाईको यस्तो दाबीलाई प्रचण्ड र देउवा दुबैले अस्वीकार गरेको छन् । प्रचण्डले अहिले हाउस स्थगन नगरौं भनेर ओलीलाई भन्दाभन्दै जबरजस्ती स्थगन गरेको स्थायी कमिटीको बैठकमै बताइसकेका छन् ।

उता कांग्रेस सभापति देउवाले पनि सानेपाको बैठकमा भने, ‘हाउस स्थगन गर्नेबारे ओलीले मसँग छलफलै गरेका थिएनन् । उनले त एमसीसी पास गर्न कार्यव्यवस्था समितिको बैठक राख्न प्रस्ताव गरेका थिए ।’

सरकार बनाउने अर्को हल्ला

पछिल्लो समय केपी ओलीनिकटका नेताहरुले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनेबारे देउवासँग छलफल भएको भन्दै अर्को कुप्रचार गरिरहेको कांग्रेस नेताहरुको गुनासो छ ।

भलै यसबारेमा कांग्रेस सभापति देउवाले आफूहरु नेकपाको झगडामा कुनै पक्षमा नलाग्ने सानेपा बैठकमा बताएका छन् ।

यसैवीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस जनताको म्याण्डेटअनुसार पाँच वर्षसम्म प्रतिपक्षमै बस्ने बताएका छन् ।

सत्तारुढ नेकपभित्रको झगडामा कांग्रेसलाई मुछ्न खोजिएकोप्रति असन्तुष्टि जनाउँदै शर्मा भन्छन्, ‘उहाँहरू आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा पुग्नुभएको छ जस्तो छ हामीलाई लाग्दैन ।’

उता कांग्रेसका अर्का नेता डा। शेखर कोइरालाले पनि ओली सरकारले राम्रो काम गर्न नसकेको बताउँदै नेपाली कांग्रेसले उनलाई सरकारमा साथ दिने अवस्था नरहेको बताए ।

कांग्रेसले अधिवेशन माग गर्ने डर

यसैवीच नेपाली कांग्रेसका एकजना नेताले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेको थाहा पाएपछि ओली पक्षका नेताहरु प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि कांग्रेसले तयारी थाल्ने हो कि भन्ने त्रासमा परेका छन् ।

केपी ओलीनिकट एक नेताले कांग्रेस नेतालाई फोन गरेर ‘तपाईहरुको संसदको विशेष अधिवेशन माग गर्न लाग्नुभएको हो र रु’ भनेर सोधेको विषय अहिले सानेपामा चर्चामा छ ।

सिधै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि अधिवेशन बोलाउँदा भावी प्रधानमन्त्रीको नाम पनि प्रस्ताव गर्नुपर्ने हुन्छ । त्यसो गर्न सम्भव नभएको अवस्थामा कांग्रेसले एमसीसीबारे छलफल गर्नका लागि अधिवेशनको माग गर्ने र त्यहीँ प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता हुने हो कि भन्ने डर ओलीपक्षमा रहेको कांग्रेसका एक नेताले बताए ।

यसैवीच, दुई दिनअघि मात्रै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । त्यसअघि कांग्रेस नेता डा। मिनेन्द्र रिजाल र नेम्वाङका वीचमा समेत छलफल भएको स्रोतले बतायो ।



मङ्गलबार २३, असार २०७७ १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.