कांग्रेस केन्द्रीय कार्यसमितिद्धारा नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

Yugnepal     543 पटक पढिएको    

कांग्रेस केन्द्रीय कार्यसमितिद्धारा नागरिकता संशोधन विधेयक फिर्ता लिन माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दै गरेको हो ।

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी रहेको छ । फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन समयमै हुनेमा आशंका जन्मिएको छ । 

यसअघि मंगलबारको बैठकमा कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।

मङ्गलबार अबेर रातिसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ ।
 
यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसकेका छन् ।   
 
बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मङ्गलबार उनकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भत्र्सना गरेको छ । 

उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते भएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधानसभाका पूर्वसदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ भई उपचारार्थ रहेकामा उनीहरु दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 



बुधबार १७, असार २०७७ १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.